काठमाडौं,माघ २२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थल नेपालको लागि गेम चेन्जर परियोजना भएको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल अबको पाँच वर्षभित्र व्यावसायिक सञ्चालनमा आउने दाबी गरे ।
निजगढमा धेरैले मुआब्जाको पैसा लिइ सकेको बताउदैं उनले मुआब्जा दिन बाँकीको पनि प्रक्रिया भइरहेको बताए । देशभरका ५४ विमानस्थल रहेको जानकारी दिँदै उनले पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति हुने बताए । भट्टराईले आन्तरिक विमानस्थललाई मजबुत बनाउन पनि ठूलो लगानी गरिने जानकारी दिए। आन्तरिक विमानस्थल स्तरोन्नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको उनले सुनाए ।
कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताउँदै उनले निर्माण प्रकृयामा प्रभाव पार्ने कार्यहरु हुँदै गएकाले यसको शिलान्यासमा १० लाख जनता उत्रिनुपर्ने बताए ।
यो आयोजना निर्माणका लागि लगानी बोर्डले स्विटजरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट एजीलाई परियोजनाको विस्तृत प्रस्ताव माग गरिसकेको छ । उक्त कम्पनीको प्रस्तावबमोजिम सरकारले आफ्ना मापदण्ड स्पष्ट गरेपछि विमानस्थलको काम अघि बढ्ने पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्री भट्टराईले पाँच वर्षभित्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुने, करीब चार महिनाभित्र भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र एक वर्षभित्र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए ।
वार्षिक एक करोड पर्यटक
वार्षिक २० लाख पर्यटक भित्र्याउनको लागि संघर्ष गरिरहेको नेपालको लागि यस्ता गेम चेञ्जर प्रोजेक्टले वार्षिक १ करोड पर्यटक भित्र्याउन सहयोग गर्ने पनि मन्त्री भट्टराईले बताए ।
‘हामी अहिले वार्षिक २० लाख पर्यटक भित्र्याउन संघर्षरत छौं’ उनले भने, ‘यदी हामीले निजगढ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल जस्ता ठूला पर्यटकीय पूर्वाधार तयार गर्यौं भने १ करोड पर्यटक ल्याउन सहयोग पुग्छ । ’
यस्तो प्रोजेक्टहरुलाई ध्यानमा राखेर काम गर्ने हो भने जीवनभर हामी पर्यटनलाई स्वागत सत्कार गरेरै आफ्नो जीवन चलाउन सक्ने समेत हुनेछौं, उनले भने ।
FACEBOOK COMMENTS