काठमाडौं, माघ २६ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको दुई सय ५० रनको लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
ओमानको जितमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारी खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाए । पहिलो विकेट ४९ रनमा गुमाएको ओमानले दोस्रो विकेट ८३ रनमा गुमाएको थियो । ओमानका जतिन्दर सिंह व्यक्तिगत २३ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए भने ४१ रन बनाएका खवार अलिलाई पनि सुशन भारीले पेभेलियनको बाटो देखाएका थिए ।
त्यसपछि क्रिजमा इलियस र मक्सुदले उत्कृष्ट साझेदारी गर्दै ओमानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । इलियसले १ सय २ बलमा शतक पूरा गरेका थिए । अन्तिमसम्म क्रिजमा रहेका इलियसले अविजित १ सय ८ रन बनाउँदा मक्सुद पनि ६८ रनमा अविजित रहे ।बलिङतर्फ नेपालका सन्दीप लामिछाने सर्वाधिक महगा खेलाडी भए । १० ओभर बलिङ गरेका सन्दीपले ६५ रन खर्चिए । नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीले एक–एक विकेट लिए ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।
लगातार तेस्रो जीत निकालेको ओमान तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।
FACEBOOK COMMENTS