काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडक कार्यक्रममा समावेश भएको साँखु–बज्रयोगिनी–घुमारचोक–डाँडाकटेरी–चौकिभन्ज्याङ–धारापानी– पटाप–कुन्डेश्वर सडकको दोश्रो चरणको कालोपत्र सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा करिब २० करोड रूपैयाँ बजेट बिनियोजन भई निर्माण कार्य अगाडि बढिरहेको यो सडकको अन्तिम बिन्दु पटापसम्म्को लम्बाई करिब २३ किलोमिटर रहेको छ । दुई अर्ब रुपैयाँ भन्दा बढी लागत अनुमान गरिएको यो सडकमा पहिलो चरणमा २० करोड बजेटले ३.५ किलोमिटर साँखु बजारदेखि प्रसिद्ध धार्मिक स्थल बज्रयोगिनीसम्म कालोपत्र भएको हो ।
पहिलो चरणमा डीबीएम कालोपत्र गरिएको यो सडकमा हाल आसफाल्ट गरिएको बताइएको छ । यो सडकको पुरै खण्ड निर्माण सम्पन्न भएमा शंखरापुर नगरपालिकाका २, ४, ७ र ८, जोडिने छन् । साथै यस भेगकै इस्कुस खेतिका लागि प्रसिद्ध वडा नं ४ को लप्से र ८ को घुमारचोकका किसानलाई उत्पादित तरकारीलाई बजारसम्म पुर्याउन धेरै सहज हुने वडा नं ८ का अध्यक्ष पोते थिङले बताए ।
२०७९ भदौ २६ गते पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेको यो सडक निर्माण कमलजित आरए बिल्डर्सले गरेको हो । यससङ्गै पहिलो खण्डको सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको र ट्राफिक सङ्केत र सडक रङरोगन (ब्युटिफिकेशन)को काम बाँकी रहेको निर्माण व्यवसायी समशेर शाक्यले बताए ।
FACEBOOK COMMENTS