काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उड्लुङ खोलाबाट आएको गेग्रानसहितको बाढीले बूढीगण्डकी नदीमा ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २५ गते आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ६२ जनालाई नेपाली सेनाका चारवटा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ खोलाबाट आएको गेग्रानले केही समय नदीको बहाव थुनेपछि बूढीगण्डकीमा ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ भने घटनाबारे थप अध्ययन भइरहेको छ । बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतका उड्लुङ निवासी दुई महिला र तीन पुरुष गरी पाँच जना अझै सम्पर्कविहीन छन् ।
प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरणअनुसार दुईवटा पक्की पुल, दुईवटा झोलुङ्गे पुल, तीनवटा जलविद्युत् संरचना तथा चारवटा भवनकुण्डमा क्षति पुगेको छ । त्यस्तै, ५४ वटा घर पूर्ण रूपमा र २७ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले ३४ वटा गोठ, १२ वटा बगर तथा खेतबारी र तीनवटा सवारीसाधनमा समेत क्षति पुर्याएको विवरणमा उल्लेख छ । प्राधिकरणले सडक तथा हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पठाएको जनाएको छ । उपलब्ध विवरणअनुसार प्रभावित नागरिकका लागि ५० थान पाल, ५० थान त्रिपाल, २०० थान म्याट्रेस, २०० थान ब्लाङ्केट, २०० थान स्लिपिङ ब्याग, १०० थान सौर्य बत्ती, ५० थान भान्साका सामग्री, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा सरसफाइ सामग्रीका किट, १० वटा खाद्य सामग्रीका प्याकेट, १० वटा शिशु सामग्रीका प्याकेट र २० वटा रायल ब्याग पठाइएको विवरणमा उल्लेख छ । त्यसैगरी, घटनाको अवस्था पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ ।
बाढीबाट भएको क्षतिको विवरण अद्यावधिक गर्न तथा आगामी उद्धार र राहतका कामको समीक्षा गर्न विपद् परिचालन टोलीको बैठकसमेत बसेको थियो । बाढीको सूचना प्राप्त भएपछि प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्मीलाई तत्काल परिचालनका लागि सन्देश पठाएको जनाएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट बिहान ६ बजे बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देशमार्फत पूर्वसूचना दिइएको थियो । प्राधिकरणमा बिहानैदेखि विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर बाढीको अवस्था अनुगमन, क्षतिको विश्लेषण, उद्धार तथा राहतका काममा समन्वय गरिएको थियो ।
बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा स्वास्थ्यसम्बन्धी समस्या व्यवस्थापनका लागि गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आकस्मिक चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै, नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३६ जना गरी ३०६ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा थप जोखिम न्यूनीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।

२- ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो । क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित पटेलले ३५, अखिल कुमारले अविजित ३० र श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले २६-२६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिएका थिए । यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो । नेपालका लागि पुर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए । रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन् । रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो । रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्द सिंह ले ३ विकेट र जाहिद शिजादले २ विकेट लिएका थिए । अब सिरिजको अर्को खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।

३- बूढीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको गोरखाको आरुघाट क्षेत्रको कुलमान घिसिङले आज स्थलगत निरीक्षण गरेका छन् । बाढीले आरुघाट क्षेत्रका सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्याउँदा स्थानीय जनजीवन, आवागमन र दैनिक गतिविधिमा कठिनाइ उत्पन्न भएको छ । घिसिङले क्षतिको यथार्थ आकलन गरी अवरुद्ध संरचनाको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, प्रभावितको उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन् । घिसिङले सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणलाई आपसी समन्वय र सहकार्यका साथ उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन र सबै मिलेर उद्धार, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

४- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ । समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत पेस गरिएको मागदाबीको रकम हाल राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको जनाएको छ । समितिका अनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएको विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन् ।
यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गरी उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ । मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर अपुष्ट रहेको, परिचय तथा बचत पुष्टि हुने प्रमाण संकलन नभएको वा एउटै बचतकर्तासम्बन्धी एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा सम्बन्धित बचतकर्ताले आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ । त्यसैगरी, एउटै मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीका लागि फरक-फरक मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने भएमा आवश्यक विवरणसहित समितिको इमेलमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । समितिले उक्त विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ । सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयभित्र आवश्यक विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।
५- त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा आज दिउँसो ३: १० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक पुनः सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ ।
६- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार खुलातर्फको उपसभापतिमा डा. चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिएका छन् भने उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले अग्रता हासिल गरेका छन् । त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेल र उदयशमशेर राणाले अग्रता लिएका छन् । त्यसैगरी, महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन् ।
७- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तेल सम्झौता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ । ट्रम्पकै रिपब्लिकन दलका सांसदले रुसबाट तेल खरिदमा रोक लगाउने विधेयक ल्याउने तयारी गरेका छन् । रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने विधेयक ल्याउने घोषणा गरेका छन् । उनलाई रिपब्लिकन सांसद डन बेकनसहित डेमोक्रेटिक सांसदहरूको पनि समर्थन रहेको छ । पुटिनसँग टेलिफोन वार्तापछि ट्रम्पले अमेरिका र विश्व बजारमा रुसले तत्काल तीन लाख टन डिजेल आपूर्ति गर्ने घोषणा गरेका थिए । यस निर्णयले रुसमाथि प्रतिबन्ध कडा बनाउनुपर्ने माग गरिरहेका अमेरिकी सांसदहरू असन्तुष्ट बनेका छन् । केही सांसदले रुसी तेल खरिदले युक्रेनविरुद्धको युद्ध जारी राख्न पुटिनलाई आर्थिक सहयोग पुग्ने भन्दै आलोचना गरेका छन् । उनीहरूले ट्रम्पले विद्यमान प्रतिबन्धसम्बन्धी कानुन पालना गरे–नगरेको विषयमा पनि प्रश्न उठाएका छन् । यद्यपि, अमेरिकी प्रतिनिधिसभाको वर्तमान कार्यकाल जनवरीमा सकिने र नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुने भएकाले प्रस्तावित विधेयक पारित गराउन समय सीमित रहेको छ ।
८- बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन हृदयाघातका कारण भएको पुष्टि भएको छ । भारतको गोवा मेडिकल कलेजका चिकित्सकहरूको टोलीले तयार पारेको शव परीक्षण प्रतिवेदनले उनको मृत्युको कारण स्पष्ट पारेको हो । ७५ वर्षीय पाटेकरको अक्टोबर ८ मा गोवास्थित निवासमा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । उनलाई बिहान करिब ४ः३० बजे मणिपाल अस्पताल पुर्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । शव परीक्षण प्रतिवेदनअनुसार मुटुमा रगत आपूर्ति गर्ने मुख्य धमनीमा रगतको थक्का जमेर अवरोध उत्पन्न भएको थियो । यही कारण उनलाई हृदयाघात भएको र निधन भएको चिकित्सकहरूले निष्कर्ष निकालेका छन् । चिकित्सकहरूले उनको मृत्यु प्राकृतिक कारणले भएको जनाएका छन् ।
प्रहरीको अनुसन्धानअनुसार पाटेकरले निधन हुनुअघि अक्टोबर ८ को बिहान करिब २: ३० बजे पारिवारिक मित्र अमेय नाइकलाई सन्देश पठाएर आफ्नो स्वास्थ्य ठीक नभएको बताएका थिए । नाइकले बिहान करिब ३: ३० बजे सन्देश देखेपछि उनको निवास पुगेका थिए । त्यसपछि स्वास्थ्यकर्मीको सहयोगमा उनलाई अस्पताल लगिएको थियो । तर चिकित्सकको प्रयास सफल हुन सकेन । घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले उनका भतिजा प्रसाद पाटेकर र छोरा मल्हार पाटेकरको बयानसमेत लिएको थियो । परिवारले उनको निधनमा कुनै शङ्कास्पद गतिविधिको आशङ्का नगरेको प्रहरीले जनाएको छ । नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता थिए । चार दशकभन्दा लामो अभिनय यात्रामा उनले गम्भीर र हास्य दुवै प्रकारका भूमिकामार्फत दर्शकमाझ विशेष पहिचान बनाएका थिए । उनको निधनले भारतीय चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
९- नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो पुल जडान कार्य सम्पन्न भएको छ । नेपाली सेनाले पुल जडान कार्य सम्पन्न गरेसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ । पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानी गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । बाढीका कारण प्रभावित सडक तथा यातायात सम्पर्कमा समस्या भइरहेका बेला पुल जडानले स्थानीय बासिन्दालाई आवागमन र राहत वितरणमा सहयोग पुग्नेछ । नेपाली सेनाले जडान गरेको उक्त पुलले नुवाकोट र रसुवाबीचको आवागमन सहज बनाउनुका साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई समेत सहयोग पुर्याउने विश्वास गरिएको छ ।
१०- कोशी प्रदेशको नाम परिवर्तनको माग अब प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गर्न सक्ने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै नाम संशोधनको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको हो । नियमावलीको नियम २१२ अनुसार नाम परिवर्तनको प्रस्ताव दर्ता गर्न प्रदेशसभाका कुल सदस्यको कम्तीमा एकतिहाइको समर्थन आवश्यक पर्नेछ । तर, नाम परिवर्तन गर्न भने प्रदेशसभामा दुईतिहाइ बहुमत जुटाउनुपर्नेछ । २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानका आधारमा नामकरण गर्नुपर्ने मागसहित विभिन्न आन्दोलन हुँदै आएका छन् । नियमावली पारित भएपछि नाम परिवर्तनको पक्षमा रहेका दल र सांसदले औपचारिक प्रस्ताव अघि बढाउन सक्नेछन् । तर, आवश्यक दुईतिहाइ बहुमत जुटाउनुपर्ने भएकाले नाम परिवर्तनको भविष्य दलहरूबीचको सहमतिमा निर्भर रहनेछ ।
११- भारतका चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा प्रस्तावित प्रदर्शनअघि नियन्त्रणमा लिइएकोमा राति रिहा गरिएको छ । दिल्ली प्रहरीले प्रतिबन्धात्मक आदेश उल्लङ्घन गर्दै जन्तरमन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ । दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ मा रहेको निवासबाट राठीलाई नियन्त्रणमा लिएको थियो । ककरोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
मतदाता सूचीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै पार्टीले प्रदर्शन आह्वान गरेको हो । प्रदर्शनमा सहभागी हुन खोजेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, केरलका मुख्यमन्त्री पिनराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारसहित विपक्षी दलका नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैबीच, पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई दिल्ली क्यान्टस्थित कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले जनही ५० हजार रुपैयाँको मुचलका र एक वर्षसम्म शान्ति कायम राख्ने सर्तमा रिहा गर्न आदेश दिएको छ । प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यसैबीच, प्रदर्शनमा सहभागी हुन प्रहरीको जागिरबाट राजीनामा दिएको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ । दिल्ली प्रहरीले आफ्नो अभिलेखमा भिडियोमा उल्लेख गरिएअनुसारका प्रहरी सहायक निरीक्षक नभेटिएको भन्दै उक्त दाबी भ्रामक रहेको जनाएको छ । प्रहरीले अपुष्ट सूचना फैलाउनबाट बच्न र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।
१२- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सयले बढेर २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९५ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ४४४० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४४०५ मा कारोबार भएको थियो । समाचारअनुसार, प्रदर्शनका क्रममा हालसम्म सात हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको छ ।
१३- नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । थापाले आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको बताएका छन् । उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन् । विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पनि थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
१४- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् । देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ । निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ महिनामा आएको हिमपहिरो तथा भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँ नागरिकले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा भौतिक सम्पत्तिको अपूरणीय क्षति भएकाले दशैं पर्व सादगीपूर्वक मनाउने निधो गरेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिम पहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल बर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ। साथै मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
१५- अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा शुक्रबार भएको गोली प्रहारमा बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति पनि मृत फेला परेका छन् । उनले आफैँलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ । अक्टोबर ९ मा पेरी स्ट्रिटस्थित एक घरबाहिर गोली चलाएर भित्र पसेका व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा पुगेको प्रहरीले सडकमा दुई महिलाको शव फेला पारेको थियो । तीमध्ये एक जना गर्भवती रहेको बताइएको छ । पछि घरभित्र थप सात जनाको शव फेला परेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन । गोली प्रहारको कारणबारे अनुसन्धान भइरहेको छ । समाचार विवरणअनुसार, सन् २०२६ को सेप्टेम्बर २४ सम्म अमेरिकामा सामूहिक गोलीकाण्डका ३४३ घटना भएका थिए । ती घटनामा ३२० भन्दा बढीको मृत्यु भएको थियो ।
१६- साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । साउदी अधिकारीहरूले आक्रमणको पुष्टि गर्दै मृतकमध्ये चार जना साउदी नागरिक रहेको बताएका छन् । मृत्यु हुनेमा दुई जना बङ्गलादेशी तथा प्यालेस्टिनी, अमेरिकी, इजिप्टेली, जोर्डनी, सिरियाली र सुडानी नागरिक एक–एक जना रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । क्षेत्रीय अधिकारीका अनुसार शनिबार प्रहार गरिएको एउटा क्षेप्यास्त्र घरेलु उडानका लागि प्रयोग हुने विमानस्थलको तेस्रो र चौथो टर्मिनल रहेको परिसरमा खसेको थियो । आक्रमणपछि साउदी नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेको थियो ।
विमानस्थलमा सुरक्षा व्यवस्था कडा पार्दै प्रवेशद्वारहरू बन्द गरिएका थिए भने उडानहरू अन्यत्र मोडिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरबले सञ्चालन गर्ने आक्रमणमा अमेरिका सहभागी हुने वा नहुने विषयमा विचार भइरहेको बताएका छन् । उनले पछिल्लो आक्रमणबारे जानकारी प्राप्त भएको र त्यसपछि निर्णय लिइने बताएका छन् । यसअघि हुथी विद्रोहीहरूले साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए । उक्त आक्रमणमा एक जना चालकसहित तीन साउदी नागरिकको मृत्यु भएको थियो । यद्यपि, शनिबारको पछिल्लो आक्रमणबारे हुथी विद्रोहीले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
१७- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले भिल्लारियललाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा यान डिओमान्डेले गरेको गोल निर्णायक बनेको थियो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन् । रियल मड्रिडका किलियन एम्बाप्पेले गोल गर्ने राम्रो अवसर पाए पनि उनको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । दोस्रो हाफमा रियल मड्रिडले आक्रमणलाई तीव्र बनायो । खेलको ६२औँ मिनेटमा फेडेरिको भाल्भेर्देको उत्कृष्ट पासमा यान डिओमान्डेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सुरुमा सहायक रेफ्रीले अफसाइडको सङ्केत गरे पनि भिडियो सहायक रेफ्रीको समीक्षापछि गोललाई मान्यता दिइएको थियो । रियल मड्रिडका लागि डिओमान्डेको यो पहिलो गोल थियो ।
खेलको ७१औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरे पनि भिडियो सहायक रेफ्रीको समीक्षापछि उक्त गोलले मान्यता पाएन । गोल गर्ने क्रममा भिल्लारियलका नाथन सालिबाको कपाल तानेको देखिएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए । त्यसपछि रियल मड्रिडले खेलको अन्तिम समय १० खेलाडीमा सीमित भएर खेलेको थियो । खेलको अन्तिम समयमा भिल्लारियलले खेल बराबरीमा ल्याउने प्रयास गरेको थियो । तर रियल मड्रिडका गोलरक्षक थिबो कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । अन्ततः रियल मड्रिडले १–० को जितसहित तीन अंक हासिल गर्यो । यस जितसँगै रियल मड्रिडले लिगमा आफ्नो स्थान सुधार गर्ने अवसर पाएको छ । आठ खेलपछि १८ अंक जोडेको रियल मड्रिड तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोना भने गेटाफेलाई ३–० ले हराउँदै रियल मड्रिडभन्दा छ अंकले अगाडि रहेको छ ।
१८- यस वर्षको वडा दसैं आइतबारबाट सुरू भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरिएको छ । घटस्थापनाको शुभ साइत ११ :४७ बजे विधिवत् मन्त्रोच्चारणसहित जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
१९- तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न मुख्य बाँध निर्माणस्थलमा नमुना अभ्यास गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत गरिएको अभ्यासमा मुख्य बाँध, सुरुङ, विद्युत्गृहलगायत संरचनामा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो । अभ्यासमा विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सम्बन्धित निकायबीच समन्वय गर्ने तरिकाबारे व्यावहारिक अभ्यास गरिएको थियो । कार्यक्रममा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक छविलाल गैह्रेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणाली महत्त्वपूर्ण हुने बताएका थिए ।
उनले निर्माणस्थलमा कार्यरत जनशक्ति तथा बाँधको तल्लो तटीय क्षेत्रका बासिन्दाको सुरक्षा आयोजनाको प्राथमिकतामा रहेको बताए । आयोजनाले सम्भावित बाढीको जोखिमबारे समयमै सूचना दिन बाँधस्थलदेखि सेती र त्रिशूली नदीको दोभानसम्म १७ वटा साइरन जडान गरेको छ । साथै, सुरक्षित स्थानमा जाने र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक बोर्ड राखिएको जनाएको छ । आयोजनाले नियमित नमुना अभ्यास, पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायमा जनचेतना अभिवृद्धिमार्फत विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।
२०- इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले लिड्स युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । शनिबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले जित निकालेको हो । खेलमा लिड्स युनाइटेडले ५५औँ मिनेटमा जेम्स जस्टिनको गोलबाट अग्रता लिएको थियो । गाब्रियल गुडमुन्डसनको पासमा जस्टिनले गोल गर्दै पाहुना टोलीलाई अगाडि बढाएका थिए । तर आर्सनलले सात मिनेटपछि नै बराबरी गोल फर्कायो । खेलको ६२औँ मिनेटमा रिकार्डो कालाफियोरीले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए । बेन ह्वाइटको हेडरबाट प्राप्त अवसरलाई उनले सदुपयोग गरेका थिए । खेलको ७०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ब्रुनो गिमारेसले गोल गरेपछि आर्सनलले २–१ को अग्रता बनायो ।
डेक्लान राइसको आकर्षक पासमा गिमारेसले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा आर्सनलले गोल गर्न नसके पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो । प्रशिक्षक मिकेल आर्टेटाले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि टोलीको प्रदर्शनमा सुधार आएको थियो । यस जितसँगै आर्सनलले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । आर्सनलले छ खेलबाट १५ अङ्क पुर्याएको छ र गोल अन्तरका आधारमा म्यानचेस्टर सिटीसँग बराबरीमा रहेको छ । लिड्स युनाइटेड भने यस हारपछि नौ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । आर्सनलले यसअघि ब्राइटनसँग ३–० को हार बेहोरेको थियो । लिड्सविरुद्धको जितसँगै टोलीले पुनः लय समात्ने सङ्केत गरेको छ ।