काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका र साउथ अफ्रिकालगायत विभिन्न देशमा पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–६ घर भई ललितपुर गोदावारी नगरपालिका–१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापा बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने १८ वर्षीय किशोर छन् । उनीहरूले क्रमश: अमेरिका र साउथ अफ्रिकामा रोजगारीको अवसर देखाएर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बर्दियाका अभिषेक श्रेष्ठले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेका छन् । उनले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित होटेलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी सो परिमाणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, १८ वर्षीय किशोरले दुई जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी रकम ठगी गरे प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।
FACEBOOK COMMENTS