नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेलबारे सरकारले छानबिन समिति बनाएको बताए ।
‘उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ’ उनले भने ।
नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा मन्त्री डा महतले यस्तो बताएका हुन् । आफूले पार्टीभित्र कसैलाई लान्छाना नलगाएको, आरोप–प्रत्यारोप नगरेको, अरु खराब, म राम्रो भन्दिनँ, यस्ता कुरा भन्नुपर्यो भने सार्वजनिक ठाउँमा होइन, पार्टीले बोल्न दिएको ठाउँमा मात्र बोल्छु भन्दै मन्त्री डा। महतले भने, ‘यस्ता कुराले पार्टी र व्यक्तिलाई हित गर्दैन ।’
पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा। महतले स्पष्ट पारे । यो गरेको कामलाई प्रकाश महतले गर्यो भन्नुपर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्यो अथवा कांग्रेसले गर्यो भनेर अपनत्व लिन उनले आग्रह गरे । यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन भन्दै उनले भने, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ ।’
‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उनले भने, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं ।’
राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्ने मन्त्री डा। महतले बताए । पार्टीको गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको स्पष्ट पार्दै उनले भने, ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन । हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ ।’ हामीले आफ्नो क्षमता वृद्धि गरौं, एकअर्कोको खुट्टा नकाटौं ।’
FACEBOOK COMMENTS