काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले पछिल्लो समय निजी क्षेत्रले अर्थतन्त्र ठिक गतिमा गएको महसुस गरिरहेको बताएका छन् ।
उनले अब पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । नेपाल आवास तथा जग्गा विकास सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘आठौँ घरजग्गा मेला’ को उद्घाटन कार्यक्रममा उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी ४० अर्ब चाँडो भुक्तानी गर्नुपर्ने बताए ।
नेपाल आवास तथा जग्गा विकास सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सिडि इनोभेटिभ डिजाइन एण्ड कन्ट्रक्सन प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले घरजग्गा मेलाले क्रेता तथा बिक्रेताबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सुरक्षित आवासको क्षेत्रमा योगदान दिएका घरजग्गा व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक नीति नियमलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।
मेलामा २५ कक्ष घरजग्गासँग सम्बन्धित र बाँकी घरजग्गासँग सम्बन्धित बैंक तथा फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनीका कक्षका साथै होम एप्लाइन्स, टायल्स, सेनिटरी, फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री राखिएका छन् ।
सङ्घका अध्यक्ष विदुर धमलाले चार दिनसम्म चल्ने मेलाको एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र दुई अब ५० करोडभन्दा बढी मूल्यको कारोबार हुने बताए ।
FACEBOOK COMMENTS