काठमाडौंं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभएको दाबी गरे ।
उनले भने, “गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन, तर पनि यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनक नै छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन, सरकारले छिट्टै निर्णय गर्ने छ ।”
सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ । उनले सरकारले समृद्ध नेपालको आकाङ्क्षालाई पूरा गर्ने गरी दु्रतगतिमा काम गरिरहेको बताए ।
बैठकमा समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले राम्रोसँग सिमेन्ट उद्योग सञ्चालन गर्ने हो भने नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए ।
सांसद रणेन्द्र बरालीले राजनीतिक हस्तक्षेप र राज्यको उदासिनताका कारण सरकारी उद्योग धरासायी बन्दै गएको टिप्पणी गरे ।
सांसद सूर्यमान तामाङ दोङले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई उत्कृष्ट उद्योगका रूपमा विकास गर्न उद्योग र अर्थ मन्त्रालयबीच गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS