भोजपुर । ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् ।
बदामको व्यापार गरेर महिनामा रू. १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन् । ४५ वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन् ।
‘आफूले सकेको काम गर्नुपर्छ,’ वृद्धा कार्कीले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रू. १५ देखि २० हजारसम्म आम्दानी हुन्छ ।’ जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने गरेको उनले सुनाइन् ।
किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रू. ३०० मा खरिद गर्दै आएको बताउँदै उनले आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रू. ३५० मा बिक्री गर्ने गरेकी छिन् । ‘बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउँदै आएकी छु, दुई-चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ,’ उनले भनिन् ।
किसानबाट एक वर्षमा रू. चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छिन् । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् ।
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ । ‘विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवर्द्धन गर्नुपर्छ ।’
गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका-६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उनले बताए । ‘बदामखेती व्यावसायिक बन्न सकेको छैन,’ उनले भने, ‘व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।’ बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने । रासस
FACEBOOK COMMENTS