मुलुकमा जताततै निराशा छाएका बेला नयाँ वर्ष २०८१ को पहिलो सातामै मुलुकका लागि हामीले नयाँ उद्योग स्थापनासँगै उत्पादन सुरू गरेर केही सकारात्मक सन्देश दिने प्रयास गरेका छौँ । हाम्रो इमानदार प्रयासलाई साथ दिन आजको साँझमा यहाँ पाल्नुभएका तपाईंहरू सबैप्रति हामी आभारी छौँ र तपाईंहरूले दिनुभएको शुभकामना र शुभेच्छाले हामीलाई अझ बढी सत्कर्ममा लाग्न प्रेरित गरेको छ ।
देशमा लगानीको वातावरण बनेन, यहाँ भविष्य छैन भन्नेहरूका लागि यस्तै उत्पादनमूलक उद्योग स्थापना गरेर यहाँ केही हुँदैछ भनेर सन्देश दिन सक्यौँ भने हाम्रो प्रयास पनि सार्थक हुनेछ । हामीले ठूलो मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरका वस्तु उत्पादन गर्ने प्रतिवद्धतासहित उद्योग खोलेका छौँ र यस गुणस्तरलाई सधैं कायम राख्ने प्रतिवद्धता पनि जाहेर गर्दछौँ ।
उच्च गुणस्तरको उद्योगबाट उत्पादित उत्पादनहरू नेपाली जनता तथा व्यवसायीज्यूहरूलाई सुलभ मूल्यमै बिक्री वितरण गर्ने नीति लिएका छौँ । यहाँहरूसँग हातेमालो गर्न हामी उच्च इच्छाशक्ति तथा सकारात्मक सोच लिएर आएका छौँ र हामीले सबैलाई त्यो अनुभूति छिट्टै दिनेछौँ भन्ने प्रतिवद्धता जाहेर गर्दछौँ ।
स–साना कमजोरीले यस क्षेत्रमा ठूलो असर गर्न सक्दछ तथा सरकार र निजी क्षेत्रको सहकार्यमा स–साना राम्रा कामहरूले पनि धेरै सकारात्मक प्रतिफल दिन सकिन्छ र समाजमा सकारात्मक सन्देश सम्प्रेषण गरी स्वस्थ समाज बनाउन अहम् भूमिका निभाउन सक्दछौँ भन्ने विश्वास हामी राख्दछौँ ।
अहिले हामी एक–दुई पाइला मात्र टेकेका छौँ नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा उद्योग मन्त्रालयको आत्मनिर्भरको लक्ष्यलाई हामी दुई–चार वटा इँटा थप्ने प्रयास गरेका छौँ र हामीलाई पनि सकारात्मक कामका लागि हौसला यसैगरी पाइरह्यौँ भने सधैं इँटाहरू थपिरहने छौँ भन्ने विश्वास राख्दै सम्पूर्ण सर्जिकल तथा मेडिकल व्यवसायीहरू, नेपाल सरकारका सम्पूर्ण निकायहरू, सम्पूर्ण निजी क्षेत्र, बैंकिङ साझेदार, मिडियाकर्मी साथीहरू, मेरो सहकर्मी मित्रहरू, कम्पनीमा कार्यरत विभिन्न तह तप्काका कर्मचारीहरू तथा सरोकारवाला वर्गहरूमा कृतज्ञता व्यक्त गर्दछु ।
फर्चुना हेल्थ केयर तपाईं हामी सबैको कम्पनी हो । तपाईं हामीलाई आपतविपत् परेका बखत अत्यावश्यक उपचारमा प्रयोग हुने सिरिन्जलगायत अन्य उपकरण बनाउने स्वदेशी कम्पनी हो । यसको सफलताले मुलुक कुनै क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ भने तपाईंहरूको साथ सहयोग उत्तिकै जरुरी छ ।
अन्तमा, सिरिन्जलगायत मेडिकल सामग्रीहरूमा नेपाल आत्मनिर्भर भयो भनेर तपाईं हामीले छिट्टै ठूलो हेडलाइनमा समाचार देख्नेछौँ भन्ने आशा र विश्वासका साथ हाम्रो निमन्त्रणालाई स्वीकारी व्यस्त कार्यतालिका हुँदाहुँदै पनि पाल्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ठ अतिथिज्यू विषेश अतिथिज्यू, अतिथिज्यूहरूलगायत सम्पूर्ण उपस्थित व्यक्ति–व्यक्तित्वहरूमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद !
(फर्चुना सिरिन्ज उद्योगका प्रबन्ध सञ्चालक डा. जिसीले बिहीबार फर्चुना हेल्थ केयर प्रालिको समुद्घाटन समारोहमा व्यक्त गरेको धन्यवाद मन्तव्य ।)
यो पनि पढ्नुहोस्–
‘मुलुकका लागि आवश्यक सिरिन्ज पूर्ण रूपमा उत्पादन गर्न सक्षम छौँ, राज्यबाट सहयोगको अपेक्षा छ’
आर्थिक शिथिलताकै बीचमा भवानी राणाले खोलिन नयाँ उद्योग, सिरिञ्जको आयात घटाउने लक्ष्य
FACEBOOK COMMENTS