काठमाडौं । सरकारले करिब ३० अर्ब ३९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उक्त ट्रेजरी बिल जारी गर्न लागेको हो । २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको छ भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको छ ।
२८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको छ । यो जेठ ८ गते परिपक्व हुनेछ । ९१ दिन अवधिका लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ ।
यो साउन ८ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो कात्तिक ६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS