काठमाडौँ- नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ ।
संघले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भए सम्म पर्यटक एम्बोस् नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको छ ।
संघका अध्यक्ष बेदराज बास्तोलले पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनिको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याएकाले व्यवसायीहरु मारमा परेको बताएका छन् ।
‘यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातो प्लेट कायम रहेका सवारी साधनलाई वर्गीकरण गरी कम्पनीको नाममा रहने सवारी साधन व्यवसायीक प्रयोजनमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने ।
ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरु समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन् । ‘सवारी साधनहरु भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राईरेटिया पुरा गरी पर्यटन कार्यालयबाट ईजाजत पत्र लिएर मात्र व्यवसाय गर्न दिनुपर्छ,’ उनले अगाडि थपे।
नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपाल भित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको ईजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो । यस संस्था अन्तर्गत करिव २५० वटा व्यवसायीक कम्पनीहरू छन् । हाल सानो, मझौला र ठुलो गरी करिब चार हजार जति संख्या पर्यटक सवारी साधनहरु सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS