काठमाडौं । टिकटकले नेपाल सरकारअन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी)सँगको सहकार्यमा शुक्रबार (६ नोभेम्बर २०२६)मा भिजिट नेपाल कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत #VisitNepalअभियानको औपचारिक सुरुआत गरिएको हो ।
टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य हो ।
नेपाल पर्यटन बोर्डसँगको यो सहकार्यले टिकटकको प्रतिबद्धता अनुरुप पर्यटन प्रवर्द्धन, स्थानीय कलाकर्मीको सशक्तीकरण तथा स्थानीय समुदाय र व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्न डिजिटल प्लेटफर्मको उपयोग गर्ने तथा नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
यस अभियानअन्तर्गत टिकटकले युरोप, मिडल इस्ट, साउथ ईस्ट एसिया र साउथ एसियाका नौजना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ । उनीहरू ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म नेपालमा रहेर विभिन्न स्थानको भ्रमण गर्दै आफ्ना अनुभव संसारभरका दर्शकमाझ साझा गरिरहेका छन् ।
यसबाट अन्तर्राष्ट्रिय पर्यटकले नेपालका चर्चित पर्यटकीय गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर स्थानहरूबारे पनि जानकारी पाउनेछन् ।

यसैगरी, पर्यटनसम्बन्धी कन्टेन्टको पहुँच र दर्शकको सहभागिता बढाउन टिकटकले छुट्टै #VisitNepalह्यासट्याग पेज पनि सुरु गरेको छ ।

टिकटकको कोल्याब फिचरमार्फत नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी र यहाँका क्रिएटरसँग सहकार्य गरी अझ धेरै दर्शकमाझ पुग्ने र स्थानीय दृष्टिकोणबाट नेपालको विशेषता प्रस्तुत गर्ने काम गरेको छ ।

यस अभियानअन्तर्गत लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिमसमेत सञ्चालन गरिएको छ । यसबाट विश्वभरका मानिसले भर्चुअल रूपमा नेपालको अनुभव लिन र भविष्यमा भ्रमण गर्न चाहेका स्थानबारे जानकारी पाउन सक्नेछन् । #VisitNepalअभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी थिए । कार्यक्रमअघि आफ्नो धारणा राख्दै उनले भने, “डिजिटल प्लेटफर्महरूले पर्यटकीय गन्तव्यहरूको जानकारी लिने तरिकामा परिवर्तन ल्याएका छन् ।
आज विश्वको एउटा कुनामा व्यक्त गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ । हामी टिकटकलाई नेपालको पर्यटन प्रवर्द्धन गर्ने एउटा प्लेटफर्मका रूपमा मात्र नभई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा पनि स्वागत गर्न चाहन्छौँ । एउटा कथाले यात्राका लागि प्रेरित गर्न सक्छ, एउटा यात्राले अवसर सिर्जना गर्न सक्छ र एउटा अवसरले समग्र समुदायको रूपान्तरण गर्न सक्छ ।”