हेटौडा, ०७ चैत्र – बागमती प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिले आजै बाट जिल्ला प्रशासन मार्फत कोरोनासंग सम्बन्धित सूचना संकलन र सचेतना कार्यक्रम गर्ने भएको छ। आज हेटौडामा आन्तरिक तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको अध्यक्षतामा बसेको नियन्त्रण समितिले उक्त निर्णय गरेको हो। समितिले हेटौडा स्थित आपतकालीन केन्द्रलाइ सचिवालयको रुपमा बिकास गर्नुका साथै यसलाई २४ सै घण्टा संचालनमा ल्याउने समेत निर्णय गरेको छ। त्यसको लागि आवश्यक सामग्री प्रदेश सरकारले उपलब्ध गराउने छ। सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय ,सामाजिक बिकास मन्त्रालय ,नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र रास्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने छन्।
१३ वटा नै जिल्लामा सवारी आवत जावत गर्ने ठाउमा सुरक्षा निकायले बिशेष निगरानी गर्नुका साथै बिदेशी नागरिक र विदेशबाट फर्केका नेपालीको अभिलेख राखिने भएको छ। जिल्ला सदरमुकाममा माइकिङ्ग गरेर जनचेतना जगाउने देखि सवारी साधन रोकिने ठाउमा सहायता डेक्स राखिने भएको छ। शिक्षण संस्थाहरु बन्द भएपछि काठमान्डौबाट बाहिर जानेहरुमा पनि हुनसक्ने संक्रमणको बारेमा निगरानी गरिने भएको छ। बैठकमा मुख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जे एन थपलिया ,प्रमुख सचिव तोयम राय सहित नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,रास्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधिहरु र प्रदेश स्तरीय कार्यालय प्रमुखको पनि उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS