काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पक्राउ गर्नु गलत भएको बताएको छ ।
‘मानव अधिकारका समसामयिक चुनौती र आगामी दिशा’ विषयक कार्यक्रममा एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताएकी हुन् ।
अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उनले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयत्न भएको जिकिर गरिन् । सूचनाको अधिकार र स्वतन्त्र रूपमा अनुसन्धानमुलक रिपोर्टिङमाथि धावा बोलिएको भन्दै उनले नागरिकको मुखसमेत बन्द गर्ने प्रयास भएकोमा आपत्ति जनाइन् ।
नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमुलक सामग्री प्रकाशन गर्न हतोत्साही बनाइएको उनको तर्क छ । ‘मिडियालाई दबाबमा राख्ने प्रयत्न भएको देखिन्छ । सूचनाको अधिकार र स्वतन्त्र रूपमा अनुसन्धानमुलक रिपोर्टिङमाथि धावा बोलिएको छ । नागरिकको मुखसमेत बन्द गर्ने प्रयास गरिएको छ । छिमेकमा रहेका मुलुकका मिडिया र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नियम कानुन बनिरहेका छन् र अभ्यास भइरहेका छन् भने त्यसको प्रभाव तपाईंको देशमा पनि पर्ने सम्भावना बढ्छ । यि सबैको प्रभाव समाजमा गम्भीर रूपमा परेको हुनुपर्छ,’ उनले भनिन् ।
उनले पत्रकारहरू व्यावसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्नु नहुनेमा जोड दिइन् ।
FACEBOOK COMMENTS