चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चााडै हट्ने बताएका छन् ।
नेकपा एमाले चितवनको ११औँ अधिवेशनको उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।
“कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ”, उपाध्यक्ष पौडेलले भने । विसं २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए । “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन”, उनले भने “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए ।
एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक सङ्कटमा रहेको बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । “नाराबाजीका बीचबाट बजेट ल्याउनु पर्ने हुन सक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक सङ्कट आउँछ ।”
FACEBOOK COMMENTS