काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिकरूपमा सम्पन्न बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छिन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय महिला अधिकार दिवस समारोह आयोजना गरेको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै उनले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने बताइन् ।
उनले अझै राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई न्यून बजेट दिने गरिएको गुनासो गरिन् । बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहे पनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो ।
महिला अधिकारलाई संस्थागत गरेको दिनका रूपमा जेठ १६ गतेलाई महिला दिवसको रुपमा मनाउने गरिएको र संविधानसभामा सबै महिलाले ‘ककस’ निर्माण गरेर महिला अधिकारलाई संस्थागत गराउन एकजुट भएर काम गरेको बतान् । “त्यतिबेला महिला एकदमै सक्रिय हुनुहुन्थ्यो जसका कारण हामीले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्न सफल भयौँ”, मन्त्री चौधरीले भनिन्, “यो नतिजा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत अग्रज महिलाको योगदानका कारण सम्भव भएको हो । राजनीतिकरूपमा सफलता हासिल भएको छ । जुन कुरा संविधानमै सुनिश्चित गरिएको छ ।”
मन्त्री चौधरीले दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । “लैङ्गिक हिंसा, घरेलु हिंसा तथा गरिबीका कारण जीवनयापनमा जटिलता थपिएको छ । महिला आत्मनिर्भर नभएसम्म र उनीहरूको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन”, मन्त्री चौधरीले भनिन् “यसका लागि महिलामा उद्यमशीलताको विकास गर्न जरुरी भएकाले मन्त्रालयले यसतर्फ आवश्यक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।”
FACEBOOK COMMENTS