धरानको खानेपानी समस्या समाधान हुन्छ, पाँच अर्ब ७२ करोड बजेट विनियोजन भयो: मन्त्री राई
कर्पोरट खबर
8:34 pm, शुक्रबार, जेठ १८, २०८१
सुनसरी । प्रत्येक वर्ष सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव झेलिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने सङ्घीय सरकारका खानेपानीमन्त्री राजेन्द्र राईले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले धरानले आज आयोजना गरेको धरानको खानेपानी समस्या समाधान छलफल कार्यक्रममा मन्त्री राईले सप्तकोशीबाट खानेपानी ल्याउन ‘डिपिआर’को काम अन्तिम चरणमा पुगेको बताए । उनले केही प्राविधिक कामहरु मात्र बाँकी रहेको जानकारी दिए । आगामी आर्थिक वर्षमा सप्तकोशी खानेपानी योजनालाई ‘डिपिआर’को लागत अनुमान बमोजिम बजेट विनियोजन गरिएको उनले स्पष्ट पारे । खानेपानी आयोजनाका लागि पाँच अर्ब ७२ करोड ५६ लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए ।
सोही क्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राईसँगको भेटमा मन्त्री राईले भने, “अब ढिला नगरी सप्तकोशीबाट पानी ल्याउन आगामी आर्थिक वर्षमा ‘टेन्डर’ हुन्छ, ढुक्क हुनुहोस् ।” धरानको खानेपानी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आवमा सप्तकोशीको पानी ल्याउने योजनाको ‘डिपिआर’ सकेर लागत अनुमान गरी बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
आफ्नो कार्यकालमा धरानलाई जसरी पनि पानी खुवाउने वचन मन्त्री राईले दिए । मन्त्री राईसँगको भेटघाटमा नगर प्रमुख साम्पाङले धरानको खानेपानी समस्या बारेमा ज्ञापनपत्र बुझाए ।