काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउण्डेसन प्रतिबद्ध रहेको बताएका छन् ।
फाउन्डेसनले आयोजना गरेको ४८ दिन लामो इलेक्ट्रिकल उपकरण मर्मत तालिमको समापन र तालिम लिएकाहरूलाई प्रमाणपत्र वितरण गर्दै चौधरीले विभिन्न तालिमका कार्यक्रमहरू सञ्चालन गरी मुलुकमा सिपयुक्त जनशक्ति विकासमा योगदान पुर्याइरहेको बताएका हुन् ।
‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरूलाई सिप विकासमा सहयोग गरिरहेका छौँ, ताकि उनीहरूले देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन्,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनी एलजी इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरूमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तव्य समेत हो ।’ चौधरी ग्रुप नेपालमा एलजी इलेक्ट्रोनिक्ससँग ४० वर्ष भन्दा बढीको व्यावसायिक सम्बन्धमा रहँदै आएको छ ।
सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘यस्ता तालिमले मान्छेमा सिप भर्ने र देशमै केही गरेर जीवन चलाउन युवाहरूलाई प्रोत्साहन गर्नेछ,’ नगरप्रमुख गिरीले भने ।
फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम आज मंगलबार एक समारोहबीच सम्पन्न गरिएको हो । कार्यक्रममा चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे ।
तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सञ्चालित कार्यक्रम सफलतापूर्वक समापन भएको छ भने सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन भइरहेको फाउन्डेसनले जनाएको छ ।
यसैबीच, चौधरी फाउन्डेसनले तीनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेखसम्बन्धी तीन दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरू हुने बताइएको छ । यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरूलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ ।
FACEBOOK COMMENTS