भोजपुर । भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक वर्ष २०८०र८१ मा विद्युतीकरणले यहाँका दुई हजार दुई सय १९ घरधुरीमा विद्युत्को पहुँच पु¥याइएको जनाएको छ ।
केन्द्र प्रमुख रामबाबु चौधरीले सदरमुकामबाट सुदूरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–१ को बुमलिङका एक सय ५० घरसहित दुई हजार दुई सय बढी घरमा विद्युत्को पहुँच पुगेको बताए । उनले भने, “दुर्गम ठाउँमा विद्युत्को पहुँच पुर्याउने उद्देश्यअनुसार सो क्षेत्रमा पनि विद्युत् विस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।”
वर्षौदेखि बत्तीविना अध्यारोमा बस्न बाध्य ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमा विद्युत् पुगेपछि राहत मिलेको छ । घरमा पहिलो पटक विद्युत्को सुविधा पुगेकामा खुसी हुँदै लालबहादुर भुजेलले भने, “वर्षौदेखि विद्युत्को अभावमा कुपी र मैनबत्तीको भरमा बस्नुपरेको थियो, विद्युत् पुगेपछि हाल त्यो बाध्यता हटेको छ । अब हामीलाई सहज भएको छ ।” उनी मात्र होइन यहाँ बत्तीको पहुँच पुगेका सबै नागरिक उत्साहित छन् ।
प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले भने, “जिल्लाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम भइरहेको छ, बाँकी रहेका स्थानीय तहमा पनि विद्युत्को पहुँच पु¥याउन यस नयाँ आवमा पनि बजेटअनुसार निरन्तर काम हुनेछ ।”
भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हालसम्म करिब ८६ प्रतिशत घरमा विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्यअघि बढेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताए । जिल्लामा हाल राष्ट्रिय प्रशारण लाइनबाट करिब २६ हजार बढी घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् ।
जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसबाट उत्पादित १३ मेगावाट बिजुली पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
FACEBOOK COMMENTS