पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा आजदेखि कुश्मामा सञ्चालित पाँचदिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपद्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताए ।
यस वर्षको मनसुन सुरु भएदेखि गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “जब रातमा वर्षा हुन्छ अनि भोलि बिहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुन्छ ।” उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सबै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको बताए ।
भारी वर्षापछिको बाढीपहिराका कारण गण्डकी प्रदेशमा धेरै सङ्ख्यामा मानवीय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले उनीहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए । उनले जिल्ला जिल्लाबाट राहत र उद्धारका सामग्रीका साथै बजेट माग भइरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।
FACEBOOK COMMENTS