काठमाडौं । नेपाली कांग्रेस जिल्ला समिति दोलखाका सभापति बर्मा लामाले भ्रष्टाचार गर्ने जुनसुकै पार्टीका नेता, सांसद वा मन्त्री नै भए पनि वर्तमान सरकारले कारबाही गर्ने बताएका छन् ।
आर्थिक, राजनीतिक र समसामयिक विषयवस्तुमा कर्पोरेट खबरसँग कुराकानी गर्दै उनले पार्टीको नाम र शक्तिको आडमा भ्रष्टाचार गर्ने गिरोहहरूको ठूलो समूह रहेको भन्दै तिनलाई जसरी पनि कारबाही गर्ने बताएका हुन् ।
आर्थिक सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहहरूमा जनताले अपेक्षा गरेअनुरुप विकास हुन नसकेको पनि बताएका छन् । ‘भ्रष्टाचारलाई नियन्त्रण र नियम गर्ने निकायको विरुद्ध नै छिटफुट घटनाहरु बाहिर आउनाले जनतालाई प्रश्न गर्ने बाटो खुलेको र नेताप्रति अविश्वास बढ्दै गएको छ । देशको नेतृत्वकर्ताले यस विषयमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
कृषिप्रधान देशमा अधिकांश खाद्य सामग्री आयात गर्नुपर्ने स्थितिले सबैलाई लज्जाबोध भइरहेको चर्चा गर्दै उनले राजनीतिक खिचातानीकै कारण देशले स्थायित्व र स्थिर सरकार पाउन नसक्दा उत्पादन भन्दा आयात बढेको टिप्पणी गरे । खेतीयोग्य जमिनहरु बाँझो हुनु र युवा शक्तिहरु विदेश पलायन हुनु नेपालका लागि अत्यन्तै दुर्भाग्य भइरहेको उनको भनाइ छ ।
देश सङ्घीय प्रणालीमा गाइसके पनि बजेट वितरण प्रणालीमा एकरुपता नहुँदा उचित परिणाम हासिल गर्न नसकेको र नेताको पहुँच अनुसारको बजेटमुखी प्रणालीले तीन तहको सरकारबीच आवश्यक समन्वय नै हुन नसकेको उनको भनाइ छ । फलस्वरुप विकासको गति बढ्न नसकेको उनको धारणा छ ।
‘कुनै ठाउँमा तीनवटै तहको बजेट एकै ठाउँमा थुपार्ने, कुनै ठाउँमा परेको योजना समेत कटौती हुनुले जनतामा नेताप्रति एक किसिमको वितृष्णा पैदा भएको छ । स्थानीय तह अलि बढी सजक र जिम्मेवार हुनुपर्ने देखिन्छ,’ उनले भने ।
लामासँगको पूरा कुराकानी भिडिओमार्फत हेर्नुहोस्–
FACEBOOK COMMENTS