काठमाडौं । प्रसंसा संरक्षण समूह अन्तर्गतका चार वटा समाजमध्ये “प्रसंसा युवा समाज”को तदर्थ समिति आज गठन गरिएको छ ।
काठमाडौंको थापागाउस्थित कार्निभल रेष्टुरेन्टमा आयोजित भेलाले नितेश चन्दको नेतृत्वमा तदर्थ समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा टेकराज अवस्थि, अशोक शर्मा, लोकराज भट्ट, उद्धब बोगटी, डम्बर झुकाल, नबिना धामी, ललित नेगी, भरत जोशी, भिम बहादुर बिष्ट, रितु भट्टराई र यशोदा भट्ट छन् ।
यो समिति सुदूरपश्चिमको कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा प्रमुख ध्यान दिने बताएको छ ।
कार्यक्रममा प्रसंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्बादत्त भट्ट, प्रसंसा बुद्धिजीवी समाजका कोषाध्यक्ष तिलक भट्ट र प्रसंसा सिर्जनशील महिला समाजकी निवर्तमान अध्यक्ष ज्वाला बिष्टको उपस्थिति थियो ।
प्रसंसा संरक्षण समूह २०५५ सालमा स्थापना भएको हो । यो संस्था महाकाली-कर्णाली क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले प्राथमिकता दिँदै सामाजिक उत्थान, आर्थिक विकास, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा केन्द्रित छ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीलाई सांस्कृतिक एकतामा जोड्दै काठमाडौंमा निरन्तर कार्यक्रम गर्दै आएको छ ।
संस्कृति नै मानव अस्तित्वको सही पहिचान हो भन्ने मान्यता राख्दै, यो संस्थाले धार्मिक र सामाजिक मूल्यलाई वैदेशिक सांस्कृतिक उपनिवेशवादबाट बचाउन सचेत रहेको छ । विगत २५ वर्षदेखि काठमाडौंमा सुदूरपश्चिम र कर्णालीको संस्कृति र चाडपर्वलाई भव्य रूपमा मनाउँदै आएको छ ।
प्रसंसा संरक्षण समूहका अन्तर्गत प्रसंसा सिर्जनशील महिला समाज, प्रसंसा बुद्धिजीवी समाज, प्रसंसा युवा समाज र प्रसंसा कला संरक्षण समाज छन् । यी समाजहरूको सक्रियताले गोरा पर्व, होली, डेउडा र ढुस्कोलाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको दाबी गरिएको छ ।
FACEBOOK COMMENTS