काठमाडाैँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरव्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
स्वीटजरल्याण्डको जेनेभामा भएको भेटमा नेपालको संघीय संसद र अन्तरव्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानव अधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए।
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताए। उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे।
FACEBOOK COMMENTS