काठमाडौं । बान्द्रे नामले प्रसिद्ध टेलिभिजन कलाकार सुरज चापागाईंले नयाँ श्रृंखला ल्याउने भएका छन् । ‘मेरी बास्सै’ टिभी श्रृंखलामा देख्दै आएका दर्शकले उनलाई नयाँ सिरियलमा हेर्न पाउनेछन् ।
तर यसपटक टिभीमा नभइ बान्द्रेले वेब सिरिज ‘मेरी आम्मै’ ल्याउन लागेका हुन् । कात्तिक १७ गतेदेखि प्रत्येक शनिबार बेलुका साढे ७ बजे उनको यो शो युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट स्ट्रिमिङ हुनेछ ।
केही समय अभिनयबाट टाढिएका बान्द्रेलाई यो वेब सिरिजले दर्शकसँग जोड्ने विश्वास गरिएको छ । यसअघि ‘हल्का रमाइलो’, ‘मेरी बास्सै’, ‘गाह्रो छ’ जस्ता टिभी श्रृंखलामा देखिएका उनी दर्शकबाट टाढिएका थिए ।
‘मेरी आम्मै’बाट उनले सक्रिय कलाकारितालाई अघि बढाउने जनाएका छन् । यो वेब सिरिज ग्रामीण परिवेशमा बन्ने कमेडी शैलीको हुने उनले बताए । ‘मेरो तर्फबाट दर्शकलाई दशैं-तिहारको कोसेली हुनेछ यो’ उनले भनेका छन् ।
बान्द्रेकै पटकथा लेखन तथा निर्देशन यसमा हुनेछ । श्रृंखलामा उनीसहित ‘मेरी बास्सै’की सहकलाकार सुनिता गौतम ‘मैयाँ’, सुशील पोखरेल, यादव देवकोटा ‘सरापे’, रमेश बुढाथोकी, मुस्कान लामा, रमेश बुढामगर, भाइकृष्ण श्रेष्ठको पनि अभिनय हुनेछ । मैयाँ र बान्द्रेले ‘मेरी बास्सै’मा दिदीभाइको भूमिका निर्वाह गरेका थिए ।
FACEBOOK COMMENTS