काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरू) स्कुटरहरू पाइने ईभी मार्ट खुलेको छ ।
श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध राम्रो सर्भिस सेवाहरू भएका ब्राण्डहरूको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०-८० ब्राण्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरूम खोलेका छौं,’ उनले भने, ‘यहाँ बिक्री वितरण मात्र हैन, स्कुटरसम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरूले पनि सम्पर्क गर्न सक्नेछन् ।’
शोरूम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दीपक लम्सालले जानकारी दिए ।
‘ललितपुरमा ईभी स्कुटरका ग्राहकहरू निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकहरूको मागअनुसारका जुनसुकै मोडलका सवारीसाधनहरू बिक्री गर्छौं,’ कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले भने ।
शोरूम खुलेको अवसरमा एक हप्ताका लागि ‘एस-वे प्रो’ मोडलमा १५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन उपहारको व्यवस्थासमेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
गण्डकी अटो मेकानिकलको साधारणसभा
गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएशनको २५औं वार्षिक साधारणसभा तथा १५औं अधिवेशनले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सो समितिका निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्र, वरिष्ठ उपाध्यक्ष नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कुर्मी र सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन ।
समितिका सदस्यहरूमा डिलबहादुर तुलाधर, एकबहादुर बानियाँ, विन्दु पावे, गंगाबहादुर कुँवर र भीमसेन शाह रहेका छन ।
निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराए ।
सो साधारणसभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालीले राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको र मजदुरविना विकास सम्भव नभएकाले अटो व्यवसाय व्यवस्थापनका लागि पोखरामा अनिवार्य अटोल्याण्ड आवश्यक रहेको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले व्यवस्थित शहरका लागि अटोल्याण्ड आवश्यक रहेकाले नेपालका मुख्य शहरहरूमा व्यवस्थित ल्याण्ड विकास भइसकेकामा पोखरामा हुन नसक्नु दुःखको विषय भएको बताए ।
एसोसिएशनका अध्यक्ष सन्तोषकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बागमती प्रदेशका संयोजक बलराम भण्डारी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्वमहासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङ एसोसिएशनका अध्यक्ष तुल्सीराम न्यौपाने, पूर्वअध्यक्ष यमप्रसाद भुसाल, हेटौंडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहकार कृष्णबहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारीलगायतले धारणा राखेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्य एसोसिएशनका पूर्वअध्यक्ष सनतकुमार भट्टराई र पुराना व्यवसायी कुलबहादुर मगरलगायत सहयोगीहरूलाई सम्मान गरिएको थियो ।
साधारणसभाले महासचिव विष्णु अधिकारी र कोषाध्यक्ष अर्जुन उप्रेतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
FACEBOOK COMMENTS