काठमाडौं । माघ ९ गते भारतमा भएकाे एक रेल दुर्घटनामा ७ जना नेपालीकाे मृत्यु भएकाे छ । भारतको महाराष्ट्र राज्यअन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको परराष्ट्र मन्त्रालयले जनाएकाे हाे ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका छन् ।
मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।
रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसैगरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माघ ९ गते साँझ करिब ५:०५ बजे भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS