काठमाडौं । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट प्रणालीमा अनधिकृत प्रवेश भएको भनिएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
कम्पनीका अध्यक्ष किरण मल्ल तथा सञ्चालकहरू कदम केसी र अभिज्ञा मल्लले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त घटनामा कम्पनीको कुनै संलग्नता नरहेको दाबी गरेका हुन् । उनीहरूले घटनासम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कम्पनीका अनुसार सडक डिभिजन चरिकोटबाट प्रकाशित सूचना नं. ५–०८२/८३ अन्तर्गत ठेक्का नं. आरडीसीएचटी/३३७०११३८/०८२/८३/२३ मा अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी पहिरो क्षेत्रमा सडक छेउको भिरालो भागमा विपद् व्यवस्थापन तथा न्यूनीकरणका संरचना निर्माण गर्ने कार्यका लागि ३ एचसी–टीएसएन संयुक्त उपक्रमले बोलपत्र पेस गरेको थियो ।
उक्त बोलपत्र सम्बन्धी सम्पूर्ण काम गर्न टीएसएनका अध्यक्षलाई अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ । नेपाल सरकारले चीन सरकारको सहयोगमा उक्त निर्माण कार्य गर्ने प्रतिबद्धता जनाएपछि बोलपत्र रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यस अघि नै पत्राचार गरी वेबसाइट प्रणालीमा कुनै कमजोरी वा त्रुटि हुन नदिन ध्यानाकर्षण गराएको दाबी गरेको छ ।

वेबसाइट प्रणालीमा अनधिकृत प्रवेश भएको भनिएको विषयमा स्पष्ट रूपमा संलग्नता किटान हुन नसकेको उल्लेख गर्दै कम्पनीले उक्त घटनामा आफ्नो कुनै भूमिका नरहेको जनाएको छ ।

यसैबीच, कम्पनीका अध्यक्ष किरण मल्लले २०८३ असार २० गते काठमाडौं जिल्ला अदालतबाट आदेश भएपछि कम्पनीको नियमित कामकाज गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका सबै व्यावसायिक गतिविधि सामान्य रूपमा सञ्चालन भइरहेको जनाउँदै विज्ञप्ति मार्फत सरोकारवालालाई कुनै द्विविधामा नपर्न आग्रह गरिएको छ ।

कम्पनीले घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो व्यवसाय नियमित रूपमा सञ्चालन भइरहेको पनि स्पष्ट पारेको छ ।