काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ–१)मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनायो।
नेपालको लागि चौथो क्रममा आएका रोहित पौडेलले सर्वाधिक १०१ रनको शतकीय पारी खेले। रोहितले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले छैटौं विकेटका लागि गुल्सन झासँग ८२ रनको साझेदारी बनाएका थिए। एउटा इन्डबाट लगातार विकेट गइरहँदा रोहितले एकतर्फबाट पारी सम्हाले।
ओपनर ब्याटर आसिफ शेख ४ रनमा पेभेलियन फर्किदा अर्का ओपनर अर्जुन कुमालले २३ रन बनाए। बसिर अहमदले ३० रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ६ रनमा बोल्ड भए।
गुल्सन झाले ४८ रनको पारी खेल्दा करण केसी र नन्दन यादव सस्तैमा पेभेलियन फर्किए। सन्दीप लामिछाने २ रनमा अविजित हुँदा ललित राजवंशी अन्तिम बलमा २ रन बनाउँदै क्याच भए।
क्यानडाका लागि अखिल कुमारले सर्वाधिक ४ विकेट लिए सुखजिन्दर सिंहले ३ विकेट लिँदा जाहिद र्सिजाद २ विकेट लिए।
