काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो।
ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ–१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो।
क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित रहे। नेपालका लागि करण केसी, ललित राजबंशी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने नन्दन यादवले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनायो।
नेपालका लागि चौथो क्रममा आएका रोहित पौडेलले सर्वाधिक १०१ रनको शतकीय पारी खेले। रोहितले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले छैटौं विकेटका लागि गुल्सन झासँग ८२ रनको साझेदारी बनाएका थिए। एउटा इन्डबाट लगातार विकेट गइरहँदा रोहितले एकतर्फबाट पारी सम्हाले।

ओपनर ब्याटर आसिफ शेख ४ रनमा पेभेलियन फर्किदा अर्का ओपनर अर्जुन कुमालले २३ रन बनाए। बसिर अहमदले ३० रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ६ रनमा बोल्ड भए।

गुल्सन झाले ४८ रनको पारी खेल्दा करण केसी र नन्दन यादव सस्तैमा पेभेलियन फर्किए। सन्दीप लामिछाने २ रनमा अविजित हुँदा ललित राजवंशी अन्तिम बलमा २ रन बनाउँदै क्याच भए। क्यानडाका लागि अखिल कुमारले सर्वाधिक ४ विकेट लिए सुखजिन्दर सिंहले ३ विकेट लिँदा जाहिद र्सिजाद २ विकेट लिए।