मोरङ । प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेले सरकारले ल्याउन लागेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोे विधेयकले उद्योगी व्यवसायीहरुको समस्या सहजीकरण गर्ने बताएका छन् ।
विराटनगर भन्सार कार्यालयद्वारा आज एकीकृत जाँच चौकी विराटनगर–१८ मा आयोजित सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समिति र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उनले उद्योगी, व्यापारीहरुले आयात गरेको कच्चापदार्थको भन्सार पास लाग्ने समय, धरौटी फिर्ता, भन्सार मूल्याङ्कन जस्ता समस्या समाधान विधेयकमार्फत हुने विश्वास व्यक्त गरे ।
सभापति चालिसेले समितिले इतिहास रच्ने गरी विधेयकमार्फत बजार चलायमान र भन्सारका नीति नियम परिवर्तन गर्न लागेको जानकारी दिए ।
समितिका सदस्य सूर्यबहादुर थापा क्षेत्रीले तस्करी नियन्त्रण गर्ने उद्देश्यले भन्सार ऐन संशोधन गर्न लागिएको बताउँदै कानुनलाई वैज्ञानिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउने बताए ।
सांसद योगेन्द्र मण्डलले जाँच चौकी निर्माणका क्रममा स्थानीयवासीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सुझाव दिए । समितिका सदस्यहरु गङ्गा कार्की, अम्बरबहादुर रायमाझी, छिरिङ डम्डुल लामा र भगवती चौधरीलगायतले निर्यात एवं उत्पादनमूलक उद्योग स्थापना गर्न, राजस्व वृद्धि, उद्योगीको समस्या समाधान र सबैतिर भन्सार नियममा एकरुपता बनाउन सुझाव सङ्कलन गर्न आएको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सार विधेयक संशोधनले व्यावसायिक वातावरण तयार गर्ने विश्वास गर्दै रेल्वे ढुवानीको मूल्य घटाउन आवश्यक पहल गर्न समितिलाई आग्रह गरे ।
नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीम घिमिरे, प्रदेश अध्यक्ष पवन शारडा, नेपाल उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीलगायतले व्यापार सहजीकरण गरी राजस्व वृद्धि गर्न समितिलाई सुझाव दिए । भन्सार कार्यालय विराटनगरका प्रमुख ज्ञानेन्द्रराज ढकालले व्यापारीहरुले राखेका जिज्ञासाको जवाफ दिए ।
समितिका सभापति चालिसेलगायतले एक सय २९ बिघा क्षेत्रफलमा रहेको एकीकृत जाँच चौकी क्षेत्र र रेल्वे ढुवानी यार्डको अनुगमन गरे ।
FACEBOOK COMMENTS