काठमाडौं । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अनुगमन गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म दुई मन्त्रीका साथै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गरे ।
चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उनीहरूले अवलोकन गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।
चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्कनु भएको हो ।
चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताएको नगर प्रमुख जीवन खत्रीले बताए ।
उनका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन भएको उनले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS