‘आधा घण्टा मात्र समय पाएको भए पुल जोगिन्थ्यो, मेसिन जोडेर तान्ने तयारी पूरा भएपछि बाढीले बगायो’
तिलोत्तमा — रूपन्देहीको मायादेवी गाउँपालिकामा साढे ८ करोड रुपैयाँ लगानीमा निर्माणाधीन पक्की पुल भत्किएको छ । गत शनिबार आएको बाढीले असार मसान्तसम्म पूरा गरिसक्नुपर्ने पुल भत्काएको हो । प्रिस्ट्रेसिङ प्रविधिबाट मायादेवी–२ मा निर्माणाधीन पुल जेठ २६ गते ढलान गरिएको थियो । त्यसका १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो ।
तर बाढीको डरले १२औं दिनमा शनिबार लट्ठा तान्ने निर्णय गरिएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिसँग सल्लाह गरी लट्ठा तान्न जाँदा बाढीले पुल भत्काइसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनीले बताए ।
‘आधा घण्टा मात्र समय पाएको भए पुल जोगिन्थ्यो,’ उनले भने, ‘मेसिन जडान गरेर तान्ने तयारी पूरा भएपछि बाढीले पुल बगायो ।’ खबर पाएर उक्त स्थानमा पुग्दा ३० मिटर लम्बाइ भएको पुलको १५ मिटर बगाइसकेको उनको भनाइ छ । १५ मिटर बाँकी रहेको अवस्थामा तानेर सोझ्याउन सकिन्छ कि भनेर प्रयास गरिए पनि सम्भव नभएको उनले बताए ।
असार ६ मा पुलका दुवैतर्फ सबइन्जिनियर महेश्वर लम्साल र मुमबहादुर पल्लीले मेसिन जडान प्रक्रिया ठीक भएरनभएको हेरिरहेका थिए । मेसिन जडान गरेर लट्ठा तान्न थालेपछि पानीको बहाव बढेर पुल भत्काएको उनले दाबी गरे । त्यहाँ रहेका कामदार पुल र बुट्यान समातेर अडिएका थिए । सबइन्जिनियर लम्साल पुलसँगै केही तलसम्म बगेका थिए । पुलको स्ल्याबमा परेका उनलाई उद्धार गरेर अस्पताल लगिएको थियो । उनको हात भाँच्चिएको छ ।
‘हातको अप्रेसन भएको छ,’ मरासिनीले भने । पुललाई थामेका टेका पानीको बहाबले क्रमैसँग बगाइदिँदा पुल कमजोर भई भत्किएको उनले जानकारी दिए ।
साढे ८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको डबल स्पानको ६० मिटर लम्बाइको पुलमा अहिले ३० मिटर निर्माण गरिएको थियो । लकडाउनका कारण मजदुर र उपकरण ल्याउन नपाउँदा काममा ढिलाइ भएको ठेकेदार कम्पनी नीलगिरि नेसनल ज्वाइन्ट भेन्चर कम्पनीका प्रतिनिधि सूर्य अधिकारीले बताए ।
‘उपकरण, लट्ठा तान्ने डोरीसमेत जिल्लाबाहिरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘यही कामका लागि १५ दिनजति ढिलाइ हुँदा पुल भत्कियो ।’ यसबाट २ करोड रुपैयाँ घाटा लागेको अधिकारीले दाबी गरे । अब यो पुल हिउँद लागेपछि मात्र निर्माण गरिने उनले बताए । ठेक्का सम्झौताअनुसार आफूहरूले पुल पुनस् निर्माण गरेर हस्तान्तरण गर्ने उनको भनाइ छ । पुलका लागि गाडिएको पिलरको अवस्था नबिग्रिएको र अब हिउँदमा काम थालेपछि तीन महिनामा पुल निर्माण सम्पन्न हुने अधिकारीले बताए ।
दयानगर–छपिया सडक खण्डअन्तर्गत सियारी र मायादेवी गाउँपालिका जोड्न उक्त पुल निर्माण भइरहेको थियो । उक्त पुल निर्माण भएपछि बुटवलबाट बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ सहज हुनेछ । पुल निर्माणपछि सहजै खोलावारि र पारि गरी खेतबाली लगाउन सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।
FACEBOOK COMMENTS