काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले श्रमिकका समस्या समाधानका लागि पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले पार्टी केन्द्रीय कार्यालय बिपीनगर सानेपामा आयोजना गरेको पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा उनले २०१६ सालदेखि नै कांग्रेसले मजदुरको हक हितका लागि नीतिगत एवं कानुनी पहल गर्दै आएकामा अहिले पनि देखापरेका समस्याको समाधान कानुन संशोधनबाटै गर्ने प्रतिबद्धता जनाए ।
श्रमिक नै देशको प्रमुख शक्ति भएकाले समस्या समाधानमा पहल गर्ने उपसभापति खड्काको प्रतिबद्धता छ । सरकारमा सहभागी कांगे्रसका मन्त्रीले राम्रो काम गरेको उल्लेख गर्दै उनले पार्टीको उपस्थिति पनि सशक्त रहेको बताए ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले सूचना प्रविधिलगायत नयाँ, नयाँ माध्यमबाट रोजगारी सृजना गरेर युवालाई विदेशिनु नपर्ने वातावरण बनाउन पहल गरिने प्रतिबद्धता जनाए । पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नै श्रम कानुन बनाएर श्रमिकका समस्या समाधानमा योगदान गर्दै आएको कांग्रेसले अहिले देखिएका श्रमिकका समस्या समाधानमा पनि नेतृत्वदायी भूमिका निर्बाह गर्ने उनले बताए ।
कांगे्रस केन्द्रीय सदस्य एवं विभागका प्रमुख हरिशरण नेपालीले स्वदेशमै रोजगारीको सृजना गरी युवालाई विदेशिनुपर्ने अवस्था नआउने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिए । राज्य र निजी क्षेत्रबाट पनि श्रमिक नै प्रताडित हुने गरेकाले समस्या समाधानमा कांग्रेस नै अघि सर्ने उनले बताए ।
FACEBOOK COMMENTS