काठमाडौं । ‘गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउनुपर्छ र विद्यामान व्यवस्थाविरोधी शक्तिको आवाज कमजोर बनाउनुपर्छ’ भन्ने आशयबाट आएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अभिव्यक्तिले यतिखेर उनलाई आलोचित बनाइरहेको छ ।
आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । करिब सात दशक लामो बलिदानी, संघर्ष र जनआन्दोलनको माध्यमबाट प्राप्त भएको गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउनुपर्छ भन्ने आशयको उनको सो अभिव्यक्ति राजावादी आन्दोलन निस्तेज पार्ने मात्र नभई हिंसा भड्काउने कोणबाट आएको भन्दै तीव्र आलोचना भइरहेको छ ।
व्यवस्था परिवर्तनको एजेण्डसहित राजावादीहरूले आन्दोलन थाल्न लागेको र उक्त आन्दोलनलाई उठ्न नदिन गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने ओलीको भनाइ थियो । यदि सबै गणतन्त्रवादी तत्काल एकजुट हुन नसके एमालेले मात्रै भए पनि त्यसको प्रतिवाद गर्नुपर्ने स्पष्ट आशय एमाले अध्यक्ष ओलीको थियो । तर, कार्यकारी प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले एउटा दलको मात्रै भाषा बोलेर अभिभावकीय भूमिकाबाट पन्छिन खोजेको भन्दै सर्वत्र आलोचना भयो ।
के भनेका थिए ओलीले ?
‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन् । अहिले हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका छन् ?,’ उनले भाषण गर्दै जाँदा भनेका थिए, ‘निर्देशन पछि आउला, १५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लागौँ ।’
यो अभिव्यक्तिले राजावादीलाई घाटा गर्यो कि फाइदा ?
सुरूमा उनको यो अभिव्यक्तिबाट साँच्चै राजावादीहरू तर्सिए । जनसाधारण र आमसञ्चार माध्यमको मात्रै होइन मानवअधिकारवादीको समेत ध्यानाकर्षण गराए र ओलीको उक्त अभिव्यक्ति गलत र गैरजिम्मेवार भएको निष्कर्षमा पुर्याए । त्यसपछि उनीहरूले ओलीको त्यही बोलीलाई आफ्नो आन्दोलनको ‘सिनर्जी’का रूपमा प्रयोग गर्ने रणनीति बनाए ।
चैत १५ गते भएको जनआन्दोलन घोषणाको असफल प्रयास दोहोरिने चिन्तामा रहेको जनआन्दोलन समितिका व्यक्तिहरूले ओलीको त्यही आलोचित बोलीलाई प्रयोग गरेर शक्ति सञ्चय बढाइरहेको छ । संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालको धारणालाई विश्लेषण गर्ने हो भने यो देश प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणमा छैन, राजावादी मुभमेन्टले हल्लाइसक्यो, अब केही बल र आँट गर्दा सर्लक्कै राजा फर्किन्छन्, नयाँ व्यवस्था आउँछ ।
प्रवक्ता नेपाल भन्छन्, ‘प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट अब देश उहाँको नियन्त्रणमा छैन भन्ने कुराको पुष्टि गरेको छ । प्रधानमन्त्रीले काठमाडौं मात्र होइन, देशको सम्पूर्ण भू–भाग नै मेरो/हाम्रो/सरकारको नियन्त्रणमा छ भन्न सक्नुपर्छ । त्यो नसकेर उहाँले त्यो एक दिन मात्रै नियन्त्रणमा लिने कुरा गर्नुभयो र उहाँ यतिबेला यो देशको खाली औपचारिक रूपमा प्रधानमन्त्रीको पदमा बसेको मान्छे हो, प्रधानमन्त्री होइन ।’
प्रधानमन्त्री भएका मान्छेले म यो दिन राजधानी कब्जामा लिन्छु नभन्ने तर्क गर्दै प्रवक्ता नेपालले यसबाट अहिलेको शासकहरूको नियन्त्रणमा यो देश नरहेको र आफूहरूलाई आन्दोलन चर्काउन सहज बनाइदिएको तर्क गरेका छन् । ‘प्रधानमन्त्रीको नियन्त्रणमा यो देश छैन र उहाँले आत्मसमर्पण गर्नुभएको हो,’ उनले भने ।
यस्तै उनले अहिलेका शासकहरूमाथि जनताबाटै खतरा रहेको भन्दै राजा वा जनसाधारण जसरी सडकमा हिँडेर देखाउन पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् । ‘१५ भनौँ वा १६/१७ गते भनौँ कुनै पनि समय उहाँहरू आफू आफ्नो सुरक्षा घेराभन्दा बाहिर राजा हिँडेजस्तो वा अरू सर्वसाधारण हिँडेजस्तो सडकमा हिँड्न सक्नुहुन्न । कुनै पनि बेला उहाँहरू सरकारबाट बाहिर निस्किने बित्तिकै र सरकारी सुरक्षा घेराबाट बाहिर निस्किने वित्तिकै सर्वसाधारण जनताबाट असुरक्षित हुनुहुन्छ । त्यसो भएर उहाँको त्यो पराजित अभिव्यक्ति हो र केपी ओलीले औपचारिक रूपमा आत्मसमर्पण गर्नुबाहेक अरू विकल्प छैन । त्यो पनि शान्तिपूर्ण ढङ्गले गर्नुभयो भने ठीक छ ।’
प्रधानमन्त्रीमाथि सञ्चारगृहबाटै आयो निम्छरो गाली
प्रधानमन्त्रीको आलोचित अभिव्यक्तिलाई लिएर एभिन्युज टेलिभिजनले आफ्नो अनलाइन संष्करणमार्फत सोमबार सम्पादकीय लेखेको छ । ‘ओलीको बोली निरङ्कुशताको पराकाष्ठा’ शीर्षकमा लेखिएको सो सम्पादकीयमा प्रधानमन्त्री ओलीमाथि कुण्ठाग्रस्त गाली बर्साइएको छ । उक्त अभिव्यक्तिबाट प्रधानमन्त्री ओलीले आफूलाई उत्कृष्ट व्यवस्थाको निकृष्ट प्रधानमन्त्री भएको प्रमाणित गरेको सो सञ्चारगृहले दाबी गरेको छ ।
यस्तै, लोकतन्त्रको हुर्मत लिएको, आफ्नो अभिव्यक्तिले आफैँलाई टोले गुण्डाको नाइकेका रूपमा प्रस्तुत गरेको, अमर्यादित ढङ्गबाट हिंसा र अराजकता निम्त्याउन ठाडो निर्देशन दिएको, ओलीकै कारण जेठ १५ गतेको राजावादी आन्दोलन हिंसात्मक बन्नेलगायत विषय उक्त सम्पादकीयमा उल्लेख छ । सम्पादकीयले प्रधानमन्त्री ओलीप्रति गालीको भाषा प्रयोग गर्दा आन्दोलनलाई प्रश्रय दिएको देखिन्छ ।
FACEBOOK COMMENTS