काठमाडौं । सुनसरीको इटहरीस्थित होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटेल गरिमा लिमिटेडले आईपीओ निष्कासनका लागि एनआईएमबी एस क्यापिटलसँग सम्झौता गरेको छ ।
दुई पक्षबीच हिजो शुक्रबार ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौतामा हस्ताक्षर भएको हो । होटेल गरिमाले यस रोडम्याप सेवा सम्झौतामा हस्ताक्षर गरेर सार्वजनिक सूचीकृत कम्पनीको यात्रा सुरू गरेको छ ।
सम्झौतामा होटेल गरिमाको तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलको तर्फबाट डेपुटी सीईआ सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले आईपीओसम्बन्धी विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटेल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने छ ।
होटेल गरिमाका प्रबन्ध निर्देशक पौडेलले यो सम्झौता होटेल गरिमाको पुँजी बजार प्रवेशका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको र यो कम्पनीको विकासका लागि कोसेढुङ्गा साबित हुने बताए । उनले पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तारमार्फत आतिथ्य सत्कार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उक्त सहकार्यले कम्पनीलाई नेपालको पुँजी बजारमा सूचीकृत हुने यात्रामा एक महत्त्वपूर्ण योगदान दिने उनले बताए ।
त्यसैगरी, एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ ढुङ्गानाले होटेल गरिमाको आईपीओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउँदै निरन्तर सल्लाह–सहयोग र विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा उक्त सहकार्य सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे ।
होटेल गरिमाको तर्फबाट आईपीओ प्रक्रिया प्रारम्भ गर्नुलाई कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने दृष्टिकोणअनुरूपको महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।
FACEBOOK COMMENTS