काठमाडौँ । अल नासर छोडेर फिफा क्लब विश्वकप खेल्ने चर्चा भइरहेका बेला क्रिस्टियानो रोनाल्डोले आगामी फिफा क्लब विश्वकपमा सहभागी नहुने बताएका छन् ।
पोर्चुगलको यूईएफए नेशन्स लिगको स्पेनविरुद्धको फाइनलअघि कुरा गर्दै फिफा क्लब विश्वकपका लागि कैयौं प्रस्ताव आएको भए पनि आफू सहभागी नहुने स्पष्ट गरेका हुन् । उनले भनेका छन्, ‘यो लगभग तय छ, मैले कैयौं प्रस्ताव पाए पनि म फिफा क्लब विश्वकपमा सहभागी हुन्नँ ।’
रोनाल्डोले आफ्नो सक्रिय फुटबल क्यारिअर धेरै नभएको विषयमा आफू जानकार रहेको बताउँदै आफूले अहिले पनि उत्कृष्ट खेलिरहेको बताए । उनले आफूले सन्यासको बारेमा नसोचेको बताउँदै आफू अहिले खुसी रहेको बताए ।
रोनाल्डोले स्पेनका युवा खेलाडी लामिन यमलका बारेमा पनि टिप्पणी गरेका छन् । रोनाल्डोले यमलले राम्रो गरिरहेको भन्दै उनलाई अहिले कुनै किसिमको दबाब दिन नहुने र उनलाई खेलाडीको रूपमा विकसित हुन दिनुपर्ने बताए ।
रोनाल्डोले आइतबार राति यमलको टिम स्पेनसँग नेशन्स लिगको फाइनलमा खेल्दै छन् । अल नासरमा यस महिनाको अन्त्यसम्म मात्र सम्झौता रहेका रोनाल्डोले अल नासरमै सम्झौता नवीकरण गर्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS