काठमाडौं । जारी फिफा विश्वकपमा तपाईंले सम्झनु पर्यो भने कुन–कुन खेलाडीलाई सम्झनुहुन्छ ? तपाईंले सम्झेको खेलाडीको नाममा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नाम पक्कै छुटेन होला।
छुटोस् पनि कसरी, किनकि खेल मैदानमा मात्र होइन वित्तीय क्षेत्रमा पनि उनको प्रभाव उत्तिकै छ। उनी विश्वकै सबैभन्दा धनाढ्य खेलाडीको लिस्टको शीर्ष स्थानमा रहेका छन्।
४१ वर्षको उमेरमा छैटौँ पटक फिफा विश्वकप २०२६ मा पोर्चुगलको नेतृत्व गरिरहेका रोनाल्डोले खेल मैदानमा मात्र होइन, कमाइको मामिलामा पनि नयाँ उचाइमा पुगेका छन्।
रोनाल्डो केवल एक खेलाडी मात्र होइनन्, विश्वव्यापी ब्रान्ड बनेका छन्। उनी आर्थिक रूपमा अब्बल बन्नुको पछाडि साउदी प्रो लिग क्लब अल नासरसँगको सम्झौता हो।
फोर्ब्सले तयार पारेको २०२६ को पछिल्लो प्रतिवेदन अनुसार क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति एक दशमलव दुई बिलियन अमेरिकी डलर, करिब १ खर्ब ६० अर्ब नेपाली रुपैयाँभन्दा बढी पुगेको छ। यद्यपि केही वित्तीय सूचकांकहरूले उनको निजी व्यवसाय र चल–अचल सम्पत्तिलाई मूल्याङ्कन गर्दा यो आँकडा एक दशमलव चार बिलियन डलरसम्म पुग्ने अनुमान गरेका छन्।
रोनाल्डोले साउदी अरेबियाको अल नासरसँग ऐतिहासिक सम्झौता गरेका छन्। सन् २०२६ को पछिल्लो १२ महिनामा मात्रै तीन सय मिलियन अमेरिकी डलर कमाउँदै फोर्ब्सको सर्वाधिक कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका रोनाल्डोको मुख्य आम्दानी साउदी क्लब अल नासरबाट आउने वार्षिक दुई सय मिलियन डलरको ऐतिहासिक तलब र अन–फिल्ड बोनस हो।
त्यसैले यो सम्झौता उनको लागि केवल एउटा खेल सम्झौता मात्र नभई रोनाल्डोको लागि खेल इतिहासकै सबैभन्दा ठुलो ज्याकपट सावित भयो, जसबाट उनले प्रति महिना करिब २ सय २४ करोड नेपाली रुपैयाँ कमाउँछन्।
फुटबल मैदानबाहेक नाइकीसँगको १ बिलियन डलरको आजीवन सम्झौता, क्लियर स्याम्पु, हर्बालाइफ, र अन्य बहुराष्ट्रिय ब्रान्डहरूबाट वार्षिक ६५ मिलियन डलरभन्दा बढी विज्ञापनबापत मात्रै कमाउने गर्छन्।
त्यसैगरी रोनाल्डोको ६६ करोडभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा एउटै पोस्टबापत ४० देखि ५० करोड आउने बताइन्छ। यसका साथै रोनाल्डोको आफ्नै ब्रान्ड सीआर सेभेनु रहेको छ।
यस ब्रान्डको विलासी भित्री पोशाक, जुत्ता, प्रिमियम पर्फ्युम र चश्माको विश्वव्यापी व्यापारबाट पनि उनको करोडौँ डलरको आम्दानी हुने गरेको छ।
सन् २००३ मा स्पोर्टिङ सीपीबाट व्यावसायिक यात्रा सुरु गरेयता म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता क्लबहरूबाट मात्रै उनले खेल जीवनमा ५ सय ५० मिलियन डलरभन्दा बढी तलब बापत कमाइसकेका छन्।
रोनाल्डोको पोर्चुगलको सबैभन्दा ठुलो होटल समूह पेस्टानासँग ५०/५० प्रतिशतको साझेदारी छ। उनीसँग पेस्टाना सीआर सेभेन नामक विलासी होटलहरू छन् ।
जुन होटलहरू न्यूयोर्कको टाइम्स स्क्वायर, म्याड्रिड, लिस्बन, माराकेश र मडेइरासहित विश्वका केही महँगा प्रमुख स्थानहरूमा सञ्चालन भइरहेका छन्। उनी पोर्चुगलको लिस्बन र मडेइरा, म्याड्रिड, टुरिन इटाली, न्यूयोर्कको ट्रम्प टावरमा सम्पत्तिको मालिक हुन्।
हालै साउदी अरेबियाको रियादमा एउटा विलासी हवेली पनि खरिद गरेका छन्। साउदी अरेबिया र दुबईमा पनि उनको सम्पत्ति सयौँ करोडको रहेको जनाइन्छ।
रोनाल्डोसँग दुईवटा विलासी र लक्जरी निजी जेटहरूसमेत छन्, जसको मूल्य क्रमश: ५ सय ६० देखि ७ सय ७० करोडसम्मको छ। यसबाहेक उनिसँग १ अर्ब २० करोडभन्दा बढी मूल्यको बुगाटी सेन्टोडिएसी र रोल्स रोयल, बेन्टलीसहित झण्डै २० वटा कारहरूको संग्रह छ।
कुनै समय पोर्चुगलको एउटा सानो टापुमा खाली खुट्टाले फुटबल गुडाउने रोनाल्डो आज केवल फुटबल खेलाडीमा मात्र सीमित छैनन्। उनी अहिले वित्तीय साम्राज्यमा पनि ग्लोबल ब्रान्ड बनिसकेका छन्।
यद्यपि रोनाल्डोको यो सफलता कुनै चमत्कार भने होइन। यो उनको दुई दशक लामो कठोर मेहनत, मैदानभित्रको प्रस्तुति र मैदानबाहिरको व्यवसायको परिणाम हो।
४१ वर्षको उमेरमा पनि विश्वकप जस्तो ठुलो मञ्चमा खेलिरहनु र सँगसँगै विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीको कीर्तिमान राखिरहनुले उनलाई केवल फुटबलको मात्र होइन, आर्थिक जगतकै आइकन बनाएको छ।