काठमाडौं । स्ट्यानडर्ड चार्टर्ड बैंकले काठमाडौंको कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा वृक्षरोपण गरेको छ ।
बैंकका ३५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागितामा फलफूल, फूल फुल्ने तथा छाया दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू रोपिएको हो ।
विश्व वातावरण दिवस–२०२५ को बैंकले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन बृ्हत् वृक्षरोपण गरी समापन गरेको हो ।
हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानले दीर्घकालीन वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
वृक्षरोपणको औपचारिक सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र तथा विद्यालयका उपप्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा उनीहरूले विगत वर्षमा रोपिएका बिरुवाहरूको समेत निरीक्षण, सफाइ तथा संरक्षण कार्यमा सहभागिता जनाएका थिए ।
बैंकले प्रत्येक वर्ष वातावरण दिवसको सन्दर्भमा विभिन्न हरित गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षको अभियानमा वृक्षरोपणसँगै कर्मचारीहरूमाझ वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विविध संवाद र सरसफाइ गतिविधिहरूसमेत सञ्चालन गरिएको थियो ।
FACEBOOK COMMENTS