काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्ने प्रयास गरेमा फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् ।
ट्रम्पको यो चेतावनी यस्तो समयमा आएको छ, जब केही मिडिया रिपोर्टहरूले अमेरिकी आक्रमणमा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको दाबी गरिरहेका छन् । यद्यपि, ट्रम्पले यी रिपोर्टहरूलाई ‘फेक’ भनेका छन् ।
अमेरिकी रक्षा गुप्तचर एजेन्सीले आफ्नो रिपोर्टमा अमेरिकी हवाई आक्रमणमा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको उल्लेख गरेको रिपोर्ट बाहिर आएपछि नयाँ बहस शुरु भएको छ । खासगरी अमेरिकी मिडियाहरु सिएनएन र न्यूयोर्क टाइम्सले यी रिपोर्ट बाहिर ल्याएपछि अमेरिकी राजनीति तरंगित बनेको छ ।
तर राष्ट्रपति ट्रम्पले यी रिपोर्टहरूलाई ‘फेक’ भनेर खण्डन गरेका छन् । ट्रम्पले केहि मिडिया रिपोर्टहरूले सैन्य इतिहासको सबैभन्दा सफल अभियानलाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाउदै इरानको आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन् । ह्वाइट हाउसले पनि रिपोर्टहरूलाई ‘फेक’ भनेको छ र यो राष्ट्रपति ट्रम्पलाई बदनाम गर्ने षड्यन्त्र भएको दाबी गरेको छ ।
FACEBOOK COMMENTS