काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद र ३० करोड रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला भएको छ ।
विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा उक्त फैसला गरेको हो ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले घुस लिएको र सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
बस्नेतले जग्गा प्लटिङमा अनुचित लाभ लिई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएका थिए । उक्त मुद्दामा उनलाई ८ वर्ष कैद र २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना गरिएको छ ।
बस्नेतले शुद्धीकरण गरेको ठहर गरिएको १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्तिका लागि मनी लाउन्डरिङ ऐन, २०६४ अनुसार उनलाई ३ वर्ष कैद र बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना गरिएको हो ।
उनीमाथि सोही ऐनको उपदफा ७ अनुसार थप ३ महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थप गरिएको अदालतले जनाएको छ ।
न्यायालयले बस्नेतले अवैध रुपमा आर्जन गरेका सम्पत्ति जफत गर्ने आदेश दिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम बस्नेतले १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप जम्मा गर्नुपर्ने भएको छ ।
उक्त प्रकरणमा संलग्न पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजु कँडेललाई ८ वर्ष कैद सजाय सुनाइएको छ । उनले ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ । कँडेल र उनका कम्पनीहरूलाई पनि बस्नेतसँगै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो भराउने फैसला गरिएको छ ।
FACEBOOK COMMENTS