काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज सोमबार (असार २३) अन्तिम दिन हो।
इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आफ्नो आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।
कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गरेको हो।
दरमखोला हाइड्रोले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पुँजीको ३८ दशमलव ३३ प्रतिशत शेयर सार्वजनिक गर्न लागेको हो, जसको कुल रकम ३९ करोड ५० लाख रुपैयाँ बराबर पर्छ।
यसअन्तर्गत, आयोजना प्रभावित क्षेत्रका लागि १० लाख ३० हजार ५०० कित्ता सेयर छुट्याइएको छ।
यो शेयर गुल्मी जिल्लाको मुसीकोट नगरपालिका र बाग्लुङ जिल्लाको गलकोट नगरपालिका तथा बडीगाउँ गाउँपालिकाका स्थानीयवासीले आवेदन दिन पाउनेछन्। एक कित्ताको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार १५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। दुवै समूहका लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
स्थानीय लगानीकर्ताहरूले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा तथा दरमखोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आवेदन फारम प्राप्त गर्दा २ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। यस आइपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।
FACEBOOK COMMENTS