काठमाडौं । अभिनेत्री तथा मोडेल रिमा विश्वकर्माले रिपोर्टिङका क्रममा एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारको निन्दा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू सत्यलाई दबाउने जुनसुकै प्रयासको विरोधी रहेको र पत्रकारको सुरक्षामा लापरबाही क्षम्य नहुने बताएकी छन् ।
रिमाले पत्रकार साहले सत्यका पक्षमा उभिएर जनताका आवाजलाई बुलन्द बनाउँदै गरेको साहसी पत्रकारिताप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेकी छन् । साथै, समाजलाई सजग बनाउने आफू सधैं पत्रकार साहको साथमा रहेको पनि भनेकी छन् ।
‘प्रिय दिवाकर शाहजी, तपाईंले सत्यका पक्षमा उभिएर जनताका आवाजलाई बुलन्द बनाउँदै गर्नुभएको साहसी पत्रकारिताको हामी उच्च सम्मान गर्छौं । समाजलाई सजग बनाउन्ने अभियानमा हामी तपाईंको साथमा छौं– आज, भोलि र सधैं,’ रिमाले लेखेकी छन्, ‘हेल्लो सरकार ! सत्यलाई दबाउने जुनसुकै प्रयासको हामी विरोधी हौं, पत्रकारको सुरक्षामा लापरबाही क्षम्य हुने छैन !’
पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरीमा रातिको समयमा भएको अनुचित गतिविधिको रिर्पोटिङ गर्दा दुर्व्यवहारमा परेका थिए ।
असार २३ गते राति कार्यालयमा पुगेर रिर्पोटिङ गरिरहेका बेला त्यहाँ उपस्थित केही व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो ।
उनले कार्यालय प्रमुखकै कार्यकक्षमा बियर पार्टी चलेको रिपोर्टिङ गरेका थिए । प्रहरीको सुरक्षा लिएर कार्यालय प्रवेश गरेका साहलाई त्यहाँ रहेकाहरूले धकेलाधकेल गरेका थिए भने हो–हल्लापछि सँगै गएका प्रहरी नै गायब भएका थिए ।
साथै, पत्रकार साहका क्यामेरामेनमाथि हातपात गर्दै क्यामेरासमेत खोसिएको थियो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समिति दोषीलाई कारबाहीको माग गर्दै घटनाकाे घाेर भर्त्सना गरेकाे छ ।
यस्तै, याे विषय संसदमा पनि प्रवेश गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा सम्बोधन गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।
यसैगरी,अन्य राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका अभियन्ताहरूले समेत घटनाप्रति आपत्ति प्रकट गरेका छन् ।
FACEBOOK COMMENTS