काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका सात जना नेता पक्राउ परेका छन् ।
नेवि सङ्घ जिल्ला कार्यसमिति काठमाडौंले गरेको प्रदर्शनका क्रममा नेवि सङ्घ काठमाडौंका अध्यक्ष अंशुल केसीसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा केसीसहित नेवि सङ्घ काठमाडौंका सहसचिव दोर्जे तामाङ, नेवि सङ्घ बानेश्वरका अध्यक्ष प्रेम श्रेष्ठ, नेवि सङ्घ कीर्तिपुरका अधयक्ष रोहित श्रेष्ठ, नेवि सङ्घ चन्द्रागिरिका उपाध्यक्ष रोहन देशार, नेवि सङ्घ त्रिचन्द्रका नेता सतीश यादव र नेवि सङ्घ काठमाडौंका सहसचिव प्रस्ताव केसी छन् ।
उनीहरूले विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्ने लगायतका मागसहित प्रदर्शन गरेका थिए ।