काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० ले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई स्वागत गरेको छ ।
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ का लागि जारी गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको जनाएको छ ।
लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रही आर्थिक एवं बैंकिङ क्रियाकलापहरुले गति लिन नसकिरहेको विद्यामान अवस्थामा निकै चासोपूर्वक प्रतिक्षा गरिएको मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरुले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको छ सिबिफिनले जनाएको छ ।
आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र मौद्रिक नीतिले कोरेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले पुँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सकारात्मक संकेत देखिएको सिबिफिनको तर्क छ ।
खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घरकर्जा र सेयर धितो मार्जिनकर्जाको सीमा वृद्धि, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने कार्य सकारात्मक भएको जनाएको छ ।
कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका गरिनेसहितका अन्य महत्वपूर्ण सुधारमुखी व्यवस्थाहरु र ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ जस्तो चेतनामूलक एवं सेवाग्राहीमैत्री कार्यक्रमको व्यवहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकाससहित सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS