काठमाडौं । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा सञ्चालनमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रमका बीच दुवै सेवाको शुभारम्भ गरे ।
मन्त्री पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धताअनुसार महिलामुखी स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरिएको जनाएका छन् । साथै, निःसन्तान दम्पतीका लागि बाँझोपन उपचार सेवा पनि अस्पतालमा सञ्चालनमा आएको छ ।
‘मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘थपिएका सेवाले यहाँका दिदीबहिनीलाई धेरै खर्च गरेर काठमाडौं वा विदेश जानुपर्ने बाध्यता हट्नेछ ।’
उनले सरकारले नसर्ने रोगविरुद्ध निरोधात्मक अभियान सञ्चालन गरिरहेको र सुपथ मूल्यमा समयमै परीक्षण हुने व्यवस्था मिलाइएको बताए । मन्त्री पौडेलको सक्रियतामा अस्पतालमा लामो समयदेखि बन्द अवस्थामा रहेको क्याथ ल्याब सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भएको छ ।
मन्त्री पौडेलले आगामी बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको जानकारीसमेत गराए ।
संघीय नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार हालसम्म मधेशका महिलाहरूले यस्ता सेवाका लागि काठमाडौं वा भारतसम्म जानुपरेकोमा अब सहज र सुलभ हुने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS