काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १ गतेदेखि सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेपछि व्यवसायीहरूले उक्त निर्णय तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।
काठमाडौं उद्योग वाणिज्य संघसहितका व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरूले सरकारलाई सो आग्रह गरेका हुन् ।
हालै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार सम्पूर्ण वस्तुहरूमा एमआरपीसहितको लेबल अनिवार्य गर्ने र आगामी साउनदेखि बृहत् रूपमा बजार अनुगमन गर्ने निर्णय सुनाएको थियो । त्यसै सन्दर्भमा डिलर, खुद्रा तथा थोक व्यवसायी, जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूबीच छलफल तथा परामर्श कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले सम्पूर्ण वस्तुहरूमा एकै पटक एमआरपी लागू गर्नु व्यावहारिक दृष्टिले असम्भव रहेको प्रस्ट पारे । उनीहरूले ऐनका धेरै प्रावधान कार्यान्वयन गर्न नसक्ने, खुला बजार अर्थतन्त्रसँग मेल नखाने र व्यवसायीलाई थप असहज बनाउने तर्क गरेका छन् ।
व्यवसायीहरूले विशेषगरी अत्यावश्यक उपभोग्य वस्तुहरूलाई मात्र प्राथमिकतामा राखेर चरणबद्ध रूपमा एमआरपी लागू गर्नुपर्ने माग गरेका छन् । विलासिताका वस्तुहरूमा भने एमआरपी स्वेच्छिक बनाउनुपर्ने उनीहरूको धारणा छ । साथै, ऐन र नियमहरूलाई व्यवहारिक र कार्यान्वयन योग्य बनाउन तत्काल संशोधन गर्न पनि माग गरिएको छ ।
व्यवसायीहरूका अनुसार विदेशी वस्तुहरूको मूल्य निर्धारणमा विदेशी विनिमय दर, ढुवानी खर्च, भन्सार मूल्याङ्कन लगायतका कारणले अनाधिकृत व्यापारीलाई प्रश्रय मिल्ने र नियमित व्यवसायी डर र त्रासमा परि विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
चाडपर्वको समयमा अनुगमनको नाममा व्यवसायीलाई जरिवाना, छापा, विक्री बन्दजस्ता डर र त्रास देखाएर त्रसित बनाउने कार्यले व्यवसायीक वातावरण असहज बन्दै गएको व्यवसायीहरूको आरोप छ ।
यस अवस्थालाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन कार्य तत्कालका लागि स्थगन गर्न र नीति निर्माणमा व्यवसायीहरूको सुझावलाई समावेश गरी दीर्घकालीन समाधानतर्फ ध्यान दिन व्यवसायीहरूले अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, भक्तपुर उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल टेलरिङ्ग व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, राष्ट्रिय व्यापार संघ, नेपाल कस्मेटिक व्यवसायी संघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, एकता व्यापार संघ, नेपाल व्यापार संघ, थकाली भान्साघर संघलगायतका प्रतिनिधि सहभागी थिए ।
यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघ, चाबहिल व्यवसायी संघ, अप्टिकल व्यवसायी संघ काठमाडौं, नेपाल वितरक संघ, कोटेश्वर व्यवसायी संघ, बत्तीसपुतली गौशाला व्यापार व्यवसायी संघ, सुरज आर्केड व्यापार संघ, रञ्जना व्यापार संघ, काठमाडौं विद्युतीय व्यवसायी संघ, विशाल बजार व्यापार संघ, आरबी कम्प्लेक्स व्यापार संघलगायतबाट पनि प्रतिनिधिहरू सहभागी थिए । CCF_000204 (1)
FACEBOOK COMMENTS