हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दिपक प्रसाद देवकोटालाई राजीनामा बुझाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री लामाले सौं १८ गतेदेखि लागु हुने गरि राजीनामा दिएको जानकारी दिएको छ ।लामाले पत्रकार सम्मेलन गरेर आइतबार राजीनामा दिएपनि प्रदेश प्रमुख अस्पताल भर्ना रहेकाले राजीनामा सोमबार मात्र बुझाएका हुन् ।पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हसियत गुमाएका लामाले एकवर्ष ९ दिन बागमती प्रदेश सरकारको नेतृत्व गरेर आइतबार राजीनामा दिएका हुन् । लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ ।
लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो ।अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।अब कांग्रेस प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।
FACEBOOK COMMENTS