काठमाडौं । नेपाली सडकमा अहिले नयाँ–नयाँ ब्राण्डमा अनगिन्ती सवारीसाधनहरू गुडिरहेका छन् ।
देशको विकास र आर्थिक समृद्धिसँग अटो मोबाइल क्षेत्रलाई टाढा राख्न सकिँदैन । कुनै समय सर्वसाधारणको पहँचमा नपुगेको सवारी साधन आज दैनिक प्रयोगको एक हिस्सा भएको छ ।
वि.स. १९७० को दशकमा बत्तीसमेत नभएको फोर्डको गाडी भित्रिएको नेपालमा यही भदौ ३ गतेदेखि सुरू भएको नाडा अटो शोमा उड्ने कार अर्थात् ‘फ्लाइङ ट्याक्सी’ भित्रिएको छ । बीवाईडी, टाटा, एमजी, ह्युन्डाइ, चेरी (ओमोडा/ज्याको), दीपल, अवतार, एक्सपेङ, आयोनजस्ता विश्व प्रसिद्ध स्वचालित ईभी ब्रान्डहरूले नेपाली सडकमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै अघि बढिरहेका बेला चर्चित ईभी ब्राण्ड दीपलले फ्लाइङ ट्याक्सी ‘ईभीटोल’ नेपाल ल्याएको हो । नेपालमा वि.स. २०१३सम्म नेपालमा मान्छेहरूले गाडी बोक्ने गर्थे । झण्डै ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रहेको इतिहासकारहरू बताउँछन् ।
सडक पूर्वाधार नभएका कारण जनशक्ति लगाएर गाडीलाई काँधमा बोकेर काठमाडौं ल्याउनुपर्ने इतिहासलाई दस्तावेज बनाउँदै आज व्यवसायीहरू उड्ने कार ल्याउनसम्म सफल भएका छन् । बत्ती (हेडलाइट) समेत नभएको गाडी भित्रिएको देशमा विभिन्न कालखण्डमा फरक–फरक प्रकृतिका गाडीहरू भित्रिएका छन् ।
नेपालको अटोमोबाइल यात्रामा ‘अमेरिकी फोर्ड’ गाडीको भूमिका
नेपालमा गाडी भनेको चमत्कारसरह मानिन्थ्यो, यो इतिहास धेरै टाढाको होइन ।
जतिबेला देशमा पक्की सडकको त कुरै छोडौं गाडी गुड्नका लागि सामान्य पूर्वाधार नै थिएन । त्यस्तो बेलामा गाडी ल्याउने सपना पनि कुनै साहसिकताको कथा भन्दा कम थिएन । यस्तै एउटा ऐतिहासिक र साहसिक प्रयास गरे, राणा शासनकालका वैज्ञानिक तथा नवप्रवर्तनकारी गेहेन्द्र शमशेरले । अमेरिकाको ‘फोर्ड मोटर कम्पनी’बाट ल्याइएको त्यो गाडी नेपालमा भित्रिएको पहिलो गाडी हो ।
तर, यो गाडी देशमा भित्रिनु सजिलो थिएन । वीरगञ्जदेखि भीमफेदी हुँदै काठमाडौं ल्याउँदा कुनै सडक थिएन । त्यसैले दर्जनौं मानिसले पालैपालो काँधमा बोकेर गाडी राजधानीसम्म ल्याएका थिए । जब गाडी काठमाडौं आइपुग्यो, त्यो समयसम्म त्यसमा बत्ती जडान गरिएको थिएन ।
तर, वैज्ञानिक सोच भएका गेहेन्द्र शम्शेर स्वयम्ले त्यसमा ग्यासबाट बत्ती जडान गरेको इतिहास पढ्न पाइन्छ । उक्त फोर्ड गाडीलाई इन्द्र जात्राका अवसरमा विशेष रूपमा प्रदर्शन गरिएको थियो ।
फोर्डपछि कुन गाडीको पसे नेपाल ?
स्पष्ट रूपमा फोर्डपछि कुन कम्पनीको गाडी भित्रियो भन्ने विषय त्यति स्पष्ट छैन ।
तर, राणा शासकहरूको विलासिताको शौख र विदेश भ्रमणका कारण विभिन्न समयमा विभिन्न कम्पनीका गाडीहरू भरियाले बोकेर नै नेपाल भित्रिएको पाइन्छ । राणाकालीन शासकहरूले विशेषगरी ब्रिटिश कम्पनीका गाडीहरू ल्याउने गरेको जानकारहरू बताउँछन् । शासनकालमा भएका राजा तथा प्रधानमन्त्रीहरूले आफ्नो शक्ति र प्रतिष्ठा प्रदर्शन गर्नका लागि गाडीलाई एक महत्त्वपूर्ण वस्तुको रूपमा हेरेका थिए ।
ती गाडीहरू राजधानीभित्र सीमित हुन्थे । किनभने राजधानीबाहिर गुड्ने बाटो थिएन । राणाकालमा भित्रिएका गाडीहरूमध्ये फोर्डका अलावा ८८ ल्यान्ड रोभर ८८ र अमेरिकन सुपरलेट तथा डच कम्पनीका ट्रकसमेत भित्रिएको भनाइ पाइन्छ । यी गाडीहरू अधिकांश दोस्रो विश्वयुद्धताका भारतमा प्रयोग भएका र पछि त्यहाँबाट नेपाल ल्याइएको पाइन्छ ।
व्यावसायिक रूपमा अटोमाबाइलको इन्ट्री
नेपालमा व्यावसायिक रूपमा गाडीको आयात र बिक्री–वितरणको सुरूवात २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोड) को निर्माणपछि भएको मानिन्छ । यो सडकले भारतको रक्सौलदेखि काठमाडौँसम्म गाडी आफैं गुड्न सक्ने बाटो खोलिदिएपछि नै व्यावसायिक आयातको सम्भावना बढेको थियो ।
यद्यपि, नेपालमा व्यवस्थित र आधुनिक व्यावसायिक आयातको युग भने २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि सुरू भएको हो । त्यसबेला निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरण खुलेपछि विभिन्न व्यापारिक घरानाहरूले आधिकारिक रूपमा गाडीका कम्पनीहरूसँग डिलरशीप लिएर गाडी आयात गर्न थालेका थिए ।
यसरी, नेपालमा अहिले देखिएका ठूला गाडीका शोरुम र कम्पनीहरू २०५० को दशकपछि मात्रै स्थापना भएका हुन् । सुरूवातमा भारत र अन्य केही देशबाट गाडी आयात गरिए पनि अहिले नेपालमा अमेरिका, जापान, कोरिया, युरोप र चीन लगायतका देशका गाडीहरू व्यावसायिक रूपमा आयात हुने गरेका छन् ।
अटो क्षेत्रमा निजी अगानीकर्ताको आगमन
वि.सं. २०१३ सालमा व्यावसायिक रूपमा गाडी आयातको ढोका खुलेको हो । यसपछि, पेट्रोलियम गाडीहरूको आयात हुने क्रम बढ्यो ।
२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि सरकारले उदार आर्थिक नीति अपनायो । जसले गर्दा निजी क्षेत्रका कम्पनीहरूले आधिकारिक रूपमा विभिन्न विदेशी ब्रान्डका गाडीहरू आयात गर्न थाले । यस समयमा पेट्रोलियम गाडीले नेपाली बजारमा आफ्नो पकड बलियो बनायो ।
लामो समयसम्म नेपाली बजारमा मारुती सुजुकी, महिन्द्रा र टाटा जस्ता भारतीय ब्रान्डका गाडीहरूको वर्चस्व रह्यो । यी गाडीहरू सस्तो, बलियो र नेपाली सडकका लागि उपयुक्त मानिन्थे । तर, पछिल्लो समय टोयोटा, ह्युन्डाई र किया जस्ता जापानी र कोरियन ब्रान्डका गाडीहरूले पनि नेपाली बजारमा राम्रो पकड बनाएका छन् ।
ट्रली बसको आगमन
पेट्रोलियम पदार्थको बढ्दो मूल्य र वातावरणीय प्रदूषणलाई कम गर्ने उद्देश्यका साथ २०३२ सालमा नेपालमा ट्रली बस भित्र्याइएको थियो । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा २२ वटा ट्रली बसहरू, (विद्युतीय तार, पोल, सबस्टेसनसहित) सञ्चालनमा आएका थिए । त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म करिब १३ किलोमिटरको मार्गमा गुड्ने ट्रली बसलाई सरकारले निरन्तरता दिन सकेन अन्तत: आर्थिक भार मात्र थपिएको भन्दै वि.सं. २०६८ पूर्ण रूपमा बन्द गर्यो ।
अटो क्षेत्रमा ईभीको राज
पछिल्लो समय नेपाली सडकमा राज जमाएको ईभी गाडीको उपस्थितिले पेट्रोल डिजेलका गाडीलाई रिप्लेस गर्ने होकी भन्ने आशंका उब्जिन थालेको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीको एकाधिकारलाई विद्युतीय सवारी (ईभी) ले चुनौती दिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यो परिवर्तनलाई स्पष्ट पारेको छ, जसअनुसार ईभीको आयातको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।
नेपाली अटो बाजारमा ईभीको ५/६ वर्ष अगाडि सुरू भएको पाइन्छ । भन्सार करमा छुट, वातावरणीय प्रदूषणलाई कम गर्ने, नेपालमै उत्पादन भएको विजुली खपत गर्ने हेतुले नेपाल भित्र्याइएको ईभीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार, नेपालमा कुल ७४ अर्ब ७५ करोड रूपैयाँ बराबरका सवारी साधन आयात भए, जसमा ३१ अर्ब ७६ करोड रूपैयाँ बराबरको १३ हजार ५७८ युनिट विद्युतीय गाडी थिए । यो तथ्याङ्कले ईभीप्रतिको बढ्दो आकर्षणलाई उजागर गरेको छ । विशेषगरी, चार पाङ्ग्रे्रे गाडी, बाइक र स्कुटरको मागसमेत बढेको छ ।
उड्ने कारको चर्चा
यो वर्षको नाडा अटो शोमा दीपलको ईभीटोल फ्लाइङ ट्याक्सी (उड्ने कार)को चर्चा पनि चुलिएको छ । त्यही ईभीटोलले नाडा, नाडाको नेतृत्व र नाडा अटो शो २०८२ को इज्जत धानिरहेको छ । केहि समय अगाडिदेखि नै उड्ने कार आउने हल्ला फैलिए पनि नाडाले आफ्नो अटो शोमा उड्ने कार ल्याउन सफल भएको छ । दीपलको विद्युतीय भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ कारले नेपालमा पहिलो पटक नाडा अटो शो, २०८२ मार्फत आएको हो ।
एमएडब्ल्यू वृद्धि अटोकर्पले प्रदर्शनीमा ल्याएको यो कार नेपालको पहिलो उड्ने कारको रूपमा ऐतिहासिक सुरूवात भएको छ । नाडाले उड्ने कार हाल प्रदर्शनीमा राख्नका लागि मात्र ल्याएको बताएको छ । नाडाका अध्यक्ष करण चौधरीले विभिन्न परिप्रेक्ष्यमा हेर्ने हो भने एअर मोबिलिटी नेपालका लागि उत्तम भएको बताए । उनले भने, ‘भविश्यलाई हेरेर नै हामीले यस पटकको अटो शोमा दीपलको ईभीटोल ल्याएका हौँ । यदि नीति प्रवद्र्धन भयो भने व्यावसायिक रूपमा फ्लाइङ ट्याक्सी छिट्टै नेपाल भित्रिन्छ ।’
नाडा अटो शोमा ल्याएको उड्ने कारलाई उडाउनका लागि नेपाल नागगरिक उड्ययन प्राधिकरणसँग अनुमति लिनुपर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनले भने, ‘उडाउनका लागि प्राधिकरणसँग अनुमति लिनुपर्छ । उक्त कार नाडा अटो शोमा प्रदर्शनीका लागि मात्र ल्याइएको भएकाले नाडाले अनुमति प्राप्त गर्न कुनै पनि प्रस्ताव ल्याएको छैन ।’
अटो शोमा आउने भिजिटरलाई यस विमानले कसरी काम गर्छ भन्नेबारे नजिकबाट बुझ्न सजिलो हुनेछ । अटो शोमा यसका सम्भावित डेमो, सिमुलेसन र नेपालको सहरी यातायात प्रणालीमा यसको भविष्यबारे जानकारीहरू पनि उपलब्ध गराइनेछ ।
सन् २०२४ को अन्त्यतिर, चाङ्गनले उड्ने गाडी निर्माण गर्ने अग्रणी कम्पनी इह्याङसँग मिलेर उड्ने कारको व्यावसायिक नयाँ यात्रा सुरू गरेको थियो । केही समयअगाडि नै चीनमा चाङ्गन अटोमोबाइलले उड्ने कार प्रदर्शनमा राखेको थियो । उक्त प्रदर्शनीको छोटो अवधिमै नेपाल भित्रिएको हो ।
भविष्यमा यसको सम्भावना झल्काउने उद्देश्यसहित ल्याइएको यो फ्लाइङ ट्याक्सी अझै विकासोन्मुख अवस्थामा भए पनि, यसले नेपालमा प्रविधिको सम्भावनालाई नयाँ मोड दिने विश्वास गरिएको छ ।
दीपलको ईभीटोल विशेष गरी सहरी क्षेत्रहरूमा ट्राफिकको समस्याबाट मुक्त यात्रा र दुर्गम भेगमा छिटो आवागमनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । जमिनबाट सिधै उड्ने र ओर्लन सक्ने यसको भर्टिकल टेक–अफ तथा ल्याण्डिङ क्षमताले रनवेको आवश्यक पर्दैन ।
अझ रोचक कुरा के छ भने, यो उड्ने ट्याक्सी मानवीय पाइलट बिना नै सञ्चालन गर्न सक्ने प्रविधियुक्त छ । यसमा दुई जनासम्म यात्रा गर्न मिल्ने सुविधा राखिएको छ । यो कारले एक पटकको चार्जमा करिब ५० किलोमिटर यात्रा गर्न सक्छ । शून्य कार्बन उत्सर्जन प्रविधिले वातावरणमैत्री यात्रा सम्भव गराउने विश्वास गरिएको छ ।
दिपलले आफ्नो ईभीटोलको मूल्य हालसम्म सार्वजनिक गरेको छैन । तर अन्तर्राष्ट्रिय बजारमा यस्ता फ्लाइङ ट्याक्सीहरूको मूल्य झन्डै १२ करोड नेपाली रूपैयाँ बराबर पर्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS