काठमाडौँ । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेकी छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका छन् ।
उपराष्ट्रपति सुआनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनरको प्रदान गरेको थियो ।
उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ समेत परेको अवसरमा उपराष्ट्रपति सुआनको यो भ्रमण भएको बताइएको छ ।उनी आफ्नो भ्रमण पुरा गरि भदौ ९ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS